नवलपरासीको बेलासपुरमा दुई समूह बिच झडप, एकको मृत्यु

प्रहरीको गाडी जलाइयो, गोदाममा समेत आगजनी

हरि शर्मा , ३९१  पटक हेरिएको

नवलपरासी, फागुन १३

नवलपरासीको पाल्हीनन्दन ३ बेलासपुरमा प्रेमसम्बन्धको विषयमा दुई समूह बिच झडप हुदा  एक जनाको  मृत्यु  भएको छ भने २० जना घाइते भएका छ्न ।भने एकको अवस्था गम्भीर छ । आक्रोशित स्थानीयले प्रहरीको गाडीसमेत जलाई दिएका छन् । आगजनीबाट एक कवार्ड गोदाम ध्वस्त भएको छ ।

बेलासपुरमा मंगलबार प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षबीच झडप भएको हो । झडपका क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा समेत आगजनी गरी ध्वस्त बनाएका छन् ।

आगजनीबाट केटी पक्षका आफन्तको घरमा समेत क्षति पुगेको छ । केटा र केटी पक्षको घर सोही वडाको छोट्की कुस्मा गाउँमा छ । केटी पक्षका हजुरबुवा नाता पर्ने मोहरम पवरिया(मुसलमान) को घर भने बेलासपुरमा छ । केटा पक्षबाट आएका गाउँलेको समूहले मोहरमको बेलासपुरमा रहेको कवार्ड गोदाममा आगजनी गरेका हुन् ।

धोवी थर भएका केटासँग भएको प्रेम सम्बन्धको विषयलाई लिएर विवाद भएको हो । केटा र केटीको उमेर २० वर्षको हाराहारीमा रहेको स्थानीयले बताएका छन् ।  सोमबार साँझ केटाका भाइ काम विशेषले बेलासपुर आउँदा मोहरमका छोरा सोवराती पवरियासहितको समूहले कुटपिट गरेपछि विवादले उग्ररुप लिएको स्थानीयले बताएका छन् ।

मंगलबार कुटपिटको कारण सोध्दै बिहान केटा पक्षका समूह मोहरमको घरमा पुगेपछि दुई समूहबीच झडप सुरु भएको हो । केटी पक्षले घरको छतमाथिबाट ढुंगा हान्ने र केटा पक्षले तलबाट ढुंगा प्रहार गर्न सुरु गरेका थिए ।

दुई समूहबीच झडप भइरहँदा मोहरमका छोरा सोवरातीले केटा पक्षको समूहमाथि अन्धाधुन्दा ढुंगा प्रहार गरे‍पछि  गाडी दौडाउँदा दुईजना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।  त्यसपश्चात आक्रोशित बनेको केटा पक्षको समूहले कवार्ड गोदममा आगजनी सुरू गरेका थिए ।

गाडीको ठक्करबाट दुईजना घाइते भएका थिए । घाइतेमध्ये केटा पक्षका विजय धवलको उपचारको क्रममा भैरहवाको सिटी अस्पतालमा  मृत्युु  भएको छ भने । केटापक्षकै ४५ वर्षीय बैजनाथ प्रसाद लोनियाको अवस्था पनि गम्भीर रहेको र भैरहवा  सिटी अस्पतालमा  उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनु भएको छ । आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा आगजनी गरी ध्वस्त बनाएका छन् ।

 

स्थिति नियन्त्रण लिन ५ राउण्ड अश्रु ग्याँस र ३ राउण्ड हवाई फायर गरेको सूचना अधिकारी थापाले बताउनु भयो  । झडपका क्रममा अन्य ३ जना सर्वसाधारण पनि घाइते भएका छन् । घाइते हुने अन्यमा इन्स्पेक्टरसहित ११ जना नेपाल प्रहरी र चारजना सशस्त्र प्रहरीका रहेका छन् । टाउको र छातिमा चोट लागेका उनीहरूको अवस्था सामान्य अवस्था रहेको छ। उनीहरूको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आगजनीमा संलग्न भएका चार महिलासहित ५ जनालाई पक्राउ गरिएको र अन्य खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलको अवस्था सामान्य रहेको प्रहरील जनाएको छ । स्थिति तनावपूर्ण देखेपछि दमकल र एम्बुलेन्स पनि फर्किएका छन्।

आगजनी र झडप भएपछि बोलाइएका दमकल र एम्बुलेन्ससमेत फर्किएर जाँदा क्षति व्यहोर्नुपरेको भन्दै घटनास्थलमा खटिएका प्रहरीहरुले चालकहरूमाथि आक्रोश  पोखेका थिए । आगजनी हुने वित्तिकै रामग्राम नगरपालिकाको दमकल आएपछि टाढैबाट फर्केर जाँदा आगजनीले ठूलो क्षति पुर्‍याएको भन्दै डेढ घण्टापछि पुगेको दमकल र एम्बुलेन्सका चालकसँग प्रहरीहरुले आक्रोश पोखेका थिए ।  ‘समयमा दमकल आएको भए हाम्रो गाडी ध्वस्त हुने थिएन । गोदाममा पनि यति धेरै क्षति हुने थिएन । आएपनि बोलाउँदा बोलाउँदै फर्केर जाने ?’घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षकले आक्रोश पोख्नु भयो ।

घटनास्थलबाट रामग्राम नगरपालिका करिब ६ किलोमिटरको दुरीमा छ । रामग्रामको दमकल फर्केको प्रहरीको भनाइ छ । झडपको स्थिति सामान्य बनेपछि करिब २२ किलोमिटरको दुरीमा रहेको बर्दघाट नगरपालिकाको दमकल आएपछि रामग्रामको दमकलसमेत आएर आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति: २०२५-०२-२५ , समय : २२:२५:०९ , १ महिना अगाडि

error: कोपि गर्न पाइदैन