मर्चवारी वडा नम्बर ५ द्धारा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

उर्मिला यादव यात्री , २६४  पटक हेरिएको

भैरहवा, माघ ३०

रुपन्देहीको मर्चवारी गाउपालिका वडा नम्बर ५ ले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । aमर्चवारी गाउपालिका वडा नम्बर ५ का वडाअध्यक्ष कृष्ण कुमार सिंहको अध्यक्षता तथा मर्चवारी गाउपालिका उपाध्यक्ष आशा सिंहको प्रमुख आतिथ्यतामा वडा भित्रका ९ जना स्वास्थ्य स्वयम सेविका तथा अन्य २ जना गरी १२ जनालाई सोमबार एक कार्यक्रमका बिच साइकल बितरण गरिएको हो ।

साइकल बितरण गर्दै गाउपालिका उपाध्यक्ष आशा सिंहले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दैआएको र अझै थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताउनु भएको छ । “मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ“, उहाँले भन्नुभयो, “सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।“ कोरोना महामारी र नियमित खोप अभियानमा पनि स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै गाउपालिकालाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन र बाल तथा मातृ मृत्युदर कम गर्न यस्ता कार्यक्रमले सघाउने बिश्वास ब्यक्त गर्नू भयो ।

यस्तै गरी मर्चवारी वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण कुमार सिंहले सेवा प्रवाहलाई थप गतिशील बनाउन र स्वास्थ्य सेवामा पहुँच बढाउन साइकल बितरण गरिएको बताउनु भएको छ । महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रमा स्थायी–अस्थायी परिवार नियोजनबारे परामर्श र सेवा उपलब्ध गराउने, मातृ स्वास्थ्य प्रवर्धन अन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा चार पटक गर्भजाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहन, नियमित खोप, महामारीमा खोप अभियान लगायतका काम गर्दैआएको वडाध्यक्ष सिंहले बताउनु भयो ।

कार्यक्रममा वडा सदस्यहरु राजमती मुराव, कमलावती देवी चमार, प्रहलाद यादव, सामदेव भर लगायत स्वास्थ्य स्वयम सेबिका लगायत स्थानिय तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०२-१२ , समय : २३:०३:२१ , ४ हप्ता अगाडि