प्रतापपुरमा ९८ प्रतिशत एच.पि.भी. खोप लगाइयो, छुटेकालाई आज लगाइदै

उर्मिला यादव , १९३  पटक हेरिएको

नवलपरासी,माघ ३०

पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा २ हजार २ सय ४६ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एच.पि.भी.) खोप लगाइएको छ । माघ २२ गते देखी सुरु भएको खोप अभियान २९ गते सम्म २ हजार २ सय ४६ जनालाई लगाइएको हो भने आज माघ ३० गते छुटेका किशोरीहरुलाईप्रतापपुर स्वास्थ्य चौकी वडा नम्बर ९मा खोप लगाइदै गरेको प्रतापपुर गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख मन्तोष कुमार मुराउ ले जानकारी दिनु भएको छ । उहाले कक्षा ६ देखी १० सम्मका छात्राहरु र बिद्यालय नजाने १० बर्षदेखी १४ बर्ष उमेर समुहका किशोरीहरु नछुट्ने गरी खोप अभियान सञ्चालन गरिएको बताउनु भएको छ ।

एच. पि. भी. खोप अभियान–२०८१ अन्तर्गत प्रतापपुर गाउपालिकामा २७ वटा खोपकेन्द्र बाट २ हजार २ सय ८६ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एच.पि.भी.) खोप लगाइदैछ जसमा बिद्यालय जाने २ हजार एक सय ९४ र बिद्यालय नजाने ९२ जना रहेका छन ।

पालिका स्तरीय र वडा स्तरीय खोप समन्वय समिति मार्फत कोहि पनि खोप अभियानमा नछुटुन् भन्ने उदेश्यले प्रचारप्रसार भएको र सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविका घर घरमा पुगेर समेत खोप अभियानमा छुटेका किशोरीहरुलाई सामेल गराउने गरी खोप अभियान संचालन भएको प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादव ले जानकारी दिनु भएको छ ।

नेपालमा हरेक बर्ष २ हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुमान गरिएको छ भने हरेक बर्ष १ हजार ३ सय ९३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ । जस अनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर बाट मृत्यु हुन्छ । महिलाहरुमा हुने क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ भने क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण रहेको बताइएको छ ।

प्रकाशित मिति: २०२५-०२-१२ , समय : ११:३८:३२ , ४ हप्ता अगाडि