उर्मिला यादव यात्री , ३१८ पटक हेरिएको

रुपन्देहीको ओमसतिया गाउपालिकामा पालिका स्तरीय बालिका तथा समावेशी शिक्षण संजाल गठन गरिएको छ । गाउपालिका उपाध्यक्ष सुनिता चौधरीको संयोजकत्वमा आज शुक्रवार १४ सदस्यीय पालिका स्तरीय बालिका तथा समावेशी शिक्षण संजाल गठन गरिएको हो । जसको सदस्यमा प्रकाश सिंह, प्रमुख प्रशासकिय अधिकृत बिपिन क्षेत्री, स्वास्थ्य शाखाकी सस्मिता क्षेत्री, महिला तथा बालबालिका शाखाकी निर्मला पाण्डे, शिक्षा समिती सदस्य अखिलेश्वर पाण्डेय, रमादेवी अर्याल, सम्पर्क शिक्षक सुमित्रा देवी बि.क., बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष सुनिल केवट, बिद्यार्थी गौतम तिवारी, दलित महिला प्रतिनिधी गीता पासी, इलाका प्रहरी कार्यालय ओमसतियाका प्रमुख श्रीधर आचार्य, र ओमसतियाका शिक्षा अधिकृत हरि प्रसाद पोखरेल सदस्य सचिवमा रहनु भएको छ ।
गाउपालिका अध्यक्ष मन्जित कुमार यादव सोनुको अध्यक्षतामा गठन गरिएको पालिका स्तरीय बालिका तथा समावेशी शिक्षण संजालका सम्पुर्ण टिमलाई बधाइ दिदै गाउपालिकाले बालबालिकाको क्षेत्रमा लगानी गर्दै आएको र आगामी दिनहरुमा संजाल मार्फत थप बालबालिकाको बिकासमा पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रममा पालिका उपाध्यक्ष एवंम सञ्जालकी संयोजक चौधरीले पालिकामा समाबेशी शिक्षा प्रर्बद्धनका लागि सञ्जालले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भएको छ । उहाले बालिका,अपाङ्गता भएका एवम सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा समन्यायिक पहुँच तथा सहभागिता, सिकाइ उपलब्धि सुनिश्चित गर्नका लागि सञ्जाललाई सोही अनुरुप परिचालन गर्ने बताउनु भएको छ ।
यस्तै गरी कार्यक्रमको सहजीकरण गर्दै एजुकेशनल पेजेजका फिल्ड कोर्डिनेटर नबिन बोहराले बालिका तथा समाबेशी शिक्षा सञ्जालको आवश्यकता, यसका सिद्धान्त, छात्रा तथा समाबेशी शिक्षा संजालको काम, कत्र्तब्य, अधिकार लगायतका बारेमा सहजीकरण गर्दै बिद्यालयमा गुनासो सुनुवाई आवश्यक भएको बताउनु भएको थियो । उहाले बालबालिकाको भावना बुझन र उनीहरुको अनुकुल बातावरणको बिकास गर्न, बिद्यालयको शिक्षण सिकाइ एवम भौतिक बातावरणलाई लैंगिक तथा बालमैत्री बनाइ शैक्षिक गुणस्तर बढाउन बिद्यालयमा गुनासो सुनुवाई आवश्यक भएको र गुनासो पेटिको कार्यान्वयनबाट आउने उपलब्धहरुको बारेमा सहजीकरण मार्फत जानकारी गराउनु भएको थियो ।
सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका शाखाका प्रमुख एवं प्रतिनिधि, वडा अध्यक्ष, बाल क्लवका प्रतिनिधि, शिक्षक, प्रधानाध्यापक, स्रोत शिक्षक, प्रहरी, बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक अभिभावक संघका प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
समाबेशी शिक्षा सञ्जाल गठन तथा सञ्चालन मापदण्ड २०८० अनुसार बालिका, अपाङ्गता भएका तथा सीमान्तकृत बालबालिकाको शिक्षाको सुनिश्चितितामा पहुँच, सहभागिता र सिकाइ उपलब्धिमा सुधारका लागि योजना तर्जुमा तथा कार्यान्वयन सहजीकरणका लागि पालिका स्तरीय बालिका एवं समाबेशी शिक्षा सञ्जाल गठनको प्राबधान रहेको छ । प्रावधान अनुसार पालिका स्तरिय सञ्जालले विद्यालय बाहिर रहेका बालबालिका विशेष गरी बालिका, अपाङ्गता भएका बालबालिका तथा सीमान्तकृत समुदायका बालबालिकाको पहिचान गरी शिक्षाको पहुँच सुनिश्चिताका लागि पहल गर्ने, गुणस्तरीय अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको कार्यान्वयन गर्ने गराउने, विद्यालयमा अध्ययनरत विद्यार्थीको शिक्षामा पहुँच, निरन्तरता, सहभागिता र सिकाइ सुनिश्चित गर्न सहजीकरण गर्ने, विद्यालयमा उपयुक्त सिकाइ वातावरण तयार गर्न सहजीकरण गर्ने लगायतका कार्य गर्दछ ।
त्यसैगरी विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागिता र सिकाइ उपलब्धि अभिवृद्धिमा आवश्यक समन्वय, सहकार्य एवम् सहजीकरण गर्ने, शिक्षामा समता र समानताको प्रवर्धन गर्दै मानवीय गरिमाको रक्षाका लागि पहल गर्ने, बालिका, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका बालबालिकाको समावेशिता, वैयक्तिक सिकाइ आवश्यकता र विविधताको सम्मानको लागि सरोकारवालालाई अभिप्रेरित गर्ने लगायतका कार्यहरु सञ्जालले गर्दछ ।
प्रकाशित मिति: २०२५-०२-०७ , समय : २१:०६:१४ , १ महिना अगाडि