रुपन्देही खबर , १२७ पटक हेरिएको
परासी, माघ २२
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ स्थित राजनारायण माध्यमिक विद्यालय गेर्मीका प्रधानाध्यापक सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा प्रधानअध्यापक रेशम राज कण्डेल, विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहार विरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्यितारको प्रादेशिक कार्यलय बुटवल बाट खटिएको टोलीले गत पुस महिनामा विद्यालयका सहायक लेखापाल गुप्ता र व्यवस्थापन समिति सदस्य कहारलाई रंगेहात पक्राउ गरेको थियो । तर अनुसन्धानको क्रममा प्रधानअध्यापकको समेत संलग्नता पाईएकाले तिन जना विरुद्ध मुद्धा दायर गरिएको अख्तियारको केन्द्रिय कार्यालयले जनाएको छ । विद्यालयमा भवन निर्माण पछि अन्तिम भुक्तानीको क्रममा घुस मागेको उजुरीको आधारमा खटिएको अख्तियारको टोलीले गुप्ता र कहाँरलाई ६५ हजार रुपैयाँ घुस लिईरहेको अवस्थामा पक्राउ गरेको थियो ।
उक्त प्रकरणमा प्रधानअध्यापक कण्डेलको समेत संलग्ता पाईएको भन्दै अख्तियार तिन जना विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ६५ हजार रुपैयाँ कायम गरी उक्त ऐनको दफा ३ को उपदफा (१) को (ग) बमोजिम कैद गरी बिगो बमोजिम जरिवाना सजाय माग गर्दे विशेष अदालतमा मुद्धा दायर गरिएको हो ।
प्रकाशित मिति: २०२५-०२-०४ , समय : २०:३८:५७ , १६ घन्टा अगाडि