रुपन्देही खबर , ८१ पटक हेरिएको
परासी, माघ २२
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एच.पि.भी.) खोप अभियान आदर्श माध्यमिक विद्यालय परासीबाट सुरु गरेको छ । रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले एक कार्यक्रमका बीच खोप सामग्री स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरी खोप अभियानको शुभारम्भ गर्नुभएको हो। खोप अभियान सुरु गर्दै नगरप्रमुख यादवले नगरभित्र सञ्चालन हुने सबै खोप केन्द्रहरूमा प्रभावकारी खोप दिइने बताउनुभएको छ। उहाँले स्वास्थ्यकर्मीहरूलाई सर्वसुलभ र प्रभावकारी ढंगले खोप अभियान सञ्चालन गर्न निर्देशन समेत दिनुभयो ।
नगरभित्रका ३९ वटा विद्यालयका ३५ वटा खोप केन्द्रमा खोप सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ । ३५ जना स्वास्थ्यकर्मी र ५१ जना स्वयंसेवकहरू खोप केन्द्रमा परिचालन हुने छन् । नगरभित्रका विद्यालयमा अध्ययनरत छात्राहरू २ हजार ४२३ र विद्यालय बाहिर रहेका किशोरीहरू ४५ जना गरी कुल २ हजार ४६८ जनालाई खोप दिन लागिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताउनुभयो । आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादवको अध्यक्षता र नगर प्रमुख यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ।
सो कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले ढुक्क भएर किशोरीहरुलाई एचपीभी खोप लगाउन आग्रह गर्नुभयो। आदर्श माध्यमिक विद्यालयबाट सुरु भएको खोप अभियानमा विद्यालयका १९३ जना छात्राहरुले खोप लगाएका छन्। त्यसअघि नगरपालिकामा सम्पन्न पालिकास्तरीय खोप समन्वय समितिको बैठकमा नगरभित्रका सबै स्वास्थ्य केन्द्रहरू मार्फत गरिने खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले बताउनुभएको थियो।
प्रकाशित मिति: २०२५-०२-०४ , समय : २०:३०:११ , १६ घन्टा अगाडि