प्रदेशलाई स्थापित गर्न प्रदेशवासी कै भूमिका चाहिन्छ : सभामुख

रुपन्देही खबर , ९८  पटक हेरिएको

दाङ, माघ २१

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीय शासकीय संरचनामा प्रदेशलाई सफल र संमृद्ध वनाउने भूमिका प्रदेशवासीको नै रहेको जनाउनु भएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आज शुभकामना जारी गर्नुहुदै सभामुख घर्ती मगरले संघीयतामा तीन तहको संरचना मध्ये प्रदेश संरचना संघीय शासन व्यवस्थाको महत्वूर्ण स्वायत्त संस्था भएको जनाउनु हुदै यसको सफल र संमृद्धिको लागी प्रदेशवासीको महत्वपूर्ण भूमिका हुने जनाउनु भएको हो ।

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशबासी सम्पुर्ण आमा बुवा, दाजु बहिनी, दाजु भाइ, माननीय सदस्य ज्यूहरु, संस्थापक प्रदेश सभा सदस्य ज्यूहरु, सम्पुर्ण जनसमुदाय, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, विभिन्न संघ–संस्थाका अगुवाहरु र नागरिक समाज सबैमा  शुभकामना व्यक्त गर्नु भएको हो । लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको माघ २१ लाई  प्रदेश स्थापना दिवस मनाउने निर्णय अनुसार यो दिवस मनाउँदै आएको छ ।

प्रदेश सभा र सरकारलाई जनमुखी, जिम्मेवार, प्रभावकारी र मर्यादित बनाई वास्तवमै संघीयताको अनुभूति हुने गरी काम गर्न  प्रयत्नशील रहेको जनाउनुहुदै उहांले  तर एक्लो प्रयासले सबै कुरा सम्भव हुन नसक्ने शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।  “संघीयता कार्यान्वयको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तह बीच एक आपसमा समझदारी र सहकार्य जरुरी छ । साझा अधिकारको सम्वन्धमा अझै स्पष्टता र कानुन निर्माणमा संघीय सरकारले सहजीकरण गर्न आवश्यक देखिन्छ ।” शुभकामना सन्देशमा उल्लेख छ ।

“नेपालको संविधान –२०७२ ले संघीय शासन प्रणालीमा  संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासकीय संरचना सुनिश्चितता गरेको छ । यो संघीय शासन प्रणालीमा नयां र नौलो संरचना हो । त्यसकारण प्रदेश संरचना संघीयताको मुल मर्मसंग औपचारिकता मात्र नभई वास्तविक मुलभूत तत्व हो ।” उहांले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ–“ प्रदेश प्रति जनताको आशा र भरोसा बढाउंदै संघीयताको मुल मर्म र भावनालाई परिपुर्ति गर्न यो दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्ने छ ।”

भौतिक संरचनाका अभावका बीच स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी)मा सेवा प्रारम्भ गरेको र शुन्य संरचनाबाट शुरु भएको लुम्बिनी प्रदेश सभा र सरकारले तिव्र गतिका साथ काम थालेको जनाउनुहुदै उहांले लुम्बिनी प्रदेशलाई प्रदेशवासी सबैको दिल दिमागमा प्रदेशबाट सरल र सहज सेवा प्रवाहको पद्धतीलाई स्थापित गर्न सकेको खण्डमा मात्र यसले सार्थकता पाउने सन्देशमा उल्लेख गर्नु भएको छ । जनताले प्रदेशलाई नजिकबाट वुझ्ने देख्ने र अनुभूति गर्ने गरी नीति कार्यक्रम तय गरी कार्यान्वयन भएको र प्रदेश सभाले प्रदेश संचालनको लागि अत्यावश्यक कानुन निर्माण गरी सरकारद्धारा कार्यान्वयनमा आईरहेका सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।  “जनताको चाहना र आवश्यकता अनुसार प्रदेश सभाले कानुन निर्माण मात्र गरिरहेको छैन यसको प्रभावकारी कार्यान्वयनको अवस्थाको विषयमा अध्ययन गरी सरकारको काम कार्वाहीमा पारदर्शिताको लागि जोड दिदै आएको छ ।” सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ –“ शुन्य संरचनाबाट शुरु भएको प्रदेश संरचनालाई यहांसम्म ल्याई पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्वन्धीत सबैलाई प्रदेश स्थापना दिवसको अवसरमा म विशेष धन्यवाद सहित आभार व्यक्त गर्दछु ।”

 

 

 

प्रकाशित मिति: २०२५-०२-०३ , समय : ०६:०९:३८ , २ दिन अगाडि