सिद्धार्थनगरमा ४ हजार २ सय जना किशोरीलाई एच.पि.भी. खोप लगाइदै

उर्मिला यादव , १८०  पटक हेरिएको

भैरहवा, माघ १५

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा ४ हजार २ सय जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एच.पि.भी.) खोप लगाइदै छ । एच.पि.भी. खोप अभियान–२०८१ अन्तर्गत सिद्धार्थनगर नगरपालिकामा माघ २३ गतेदेखि ३० गतेसम्म खोप लगाइने सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिनु भएको छ । उहाले कक्षा ६ देखी १० सम्मका छात्राहरु र बिद्यालय नजाने १० बर्षदेखी १४ बर्ष उमेर समुहका किशोरीहरु नछुट्ने गरी खोप अभियान सञ्चालन गरिने बताउनु भएको छ ।

नगरमा रहेका ४२ बिद्यालयमा खोप केन्द्र संचालन गरी बिद्यालयका छात्राहरु ४ हजार, १ सय जना र बिद्यालय नजाने १ सय जना गरी ४ हजार २ सय जना किशोरीहरुलाई एच.पि.भी.खोप लगाइदैछ । एच.पि.भी.खोप अभियान–२०८१ अन्तर्गत सिद्धार्थनगरमा स्वास्थ्यकर्मी २२ जना, स्वास्थ्य स्वयमसेबिका १ सय जना , बिद्यालयका शिक्षक,शिक्षिका ५० जना लगायत आवश्यकता अनुसार नगर, वडाका जनप्रतिनिधीहरुलाई समेत खटाइने न्यौपानेले बताउनु भयो ।

जसका लागी विद्यलायका प्रधानाध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायत संग अभिमुखिकरण गर्ने काम सम्पन्न भईसकेको सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । नगर स्तरीय र वडा स्तरीय खोप समन्वय समिति मार्फत कोहि पनि खोप अभियानमा नछुटुन् भन्ने उदेश्यले प्रचारप्रसार भईरहेको र सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविका घर घरमा पुगेर समेत खोप अभियानमा छुटेका किशोरीहरुलाई सामेल गराउने गरी तयारी भईरहेको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईश्तियाक अहमद खानले जानकारी दिनु भएको छ ।

नेपालमा हरेक बर्ष २ हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुमान गरिएको छ भने हरेक बर्ष १ हजार ३ सय ९३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ । जस अनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर बाट मृत्यु हुन्छ । महिलाहरुमा हुने क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ भने क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण रहेको बताइएको छ ।

प्रकाशित मिति: २०२५-०१-२८ , समय : २०:०६:४२ , ३ दिन अगाडि