रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन

रुपन्देही खबर , १९७  पटक हेरिएको

भैरहवा, माघ ११

लुम्बिनी विकास कोषले बुद्धको अस्टधातु रहेको रामग्रामबाट लुम्बिनीसम्म बुधबारदेखि विद्युतीय बस सञ्चालन सुरु गरेको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरुको सेवालाई लक्षित गरी रामग्रामबाट लुम्बिनीका लागि बस सञ्चालन सुरु गरिएको हो । बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), र रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बसमा सवार भएर सेवा सञ्चालन गर्नु भएको भएको छ ।

कोषले बृहत्तर लुम्बिनी क्षेत्रका पर्यटकहरुलाई सेवा दिने उद्देश्यले अनुदानमा प्राप्त गरेको विद्युतीय बस कानूनी उल्झनका कारण सञ्चालन हुन सकेको थिएन । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सेतो नम्बर प्लेटका कारण बस सेवा सञ्चालन गर्न नसकेको अवस्थामा सबैको गुनासो आएपछि दानपेटिका राखेर परीक्षण स्वरुप बस सञ्चालन गरिएको बताउनु भएको छ । उनले रामग्राम र बुद्ध जन्मस्थल लुम्बिनी जोड्नका लागि हप्ताको तीनदिन विद्युतीय बस सञ्चालन गरिएको र भविष्यमा दैनिक एउटा बस सञ्चालन गर्ने योजना रहेको बताउनु भएको छ ।

त्यस्तै रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले आफूहरुले लामो समयदेखि विद्युतीय बस सञ्चालनका लागि माग गरेकोमा त्यसको सुरुवात भएको बताउनु भएको छ । उहाले रामग्राम र लुम्बिनी जोड्नका लागि विद्युतीय बसले ठूलो भूमिका खेल्ने बताउनु भएको छ । उहाले बिजुली बस नियमित सञ्चालनका लागि आवश्यक वातावरण बनाउन स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाउनु भएको छ ।

रामग्रामबाट लुम्बिनीका लागि हप्ताका तीनदिन सोमबार, बुधबार र शुक्रबार विहान ९ बजे बस चल्नेछ । रामग्राम स्तुपबाट बुद्धचोक, परासी बजार, धकधई, बेलहिया भैरहवाको देवकोटाचोक, बुद्धचोक हुँदै एयरपोर्टबाट लुम्बिनी बस चल्ने गरी रुट मिलाइएको कोषका देवदह कार्यालयका प्रमुख दामोदर सापकोटाले बताए । उनका अनुसार देवदह र रामग्राममा शनिबारलाई आलोपालो गरी रुट बनाइनेछ । लुम्बिनीदेखि सिधा बस सञ्चालन भएपछि रामग्राम आउने तीर्थयात्रुहरुलाई सहजता हुनेछ । बसमा सवारहरुले स्वेच्छिक रुपमा दानपेटिकामा सहयोग गर्न सक्नेछन् तर, कोषले भाडावापत भने शुल्क लिनेछैन ।

बस शुभारम्भमा रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी, रामग्राम वडा नम्बर ७ का वडाअध्यक्ष रविन्द्र यादव, नेपाल पत्रकार महासंघ नवलपरासी (पश्चिम) का अध्यक्ष केशव पराजुली, रामग्राम विकास कोषका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

लुम्बिनी विकास कोषले कानूनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँचवटामध्ये दुईवटा बस धम्मयात्रा लेखेर पुस ३ गतेदेखि परीक्षण स्वरुप सञ्चालन गरिएको छ । एसियाली विकास बैंकको अुनदान सहयोगमा ५ वटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो ।

 

प्रकाशित मिति: २०२५-०१-२४ , समय : ०८:३६:३५ , २ हप्ता अगाडि