राजनीतिमा पत्थरकट्ट समुदाय

उर्मिला यादव , १२७  पटक हेरिएको

नवलपरासी, माघ ८

नवलपरासीको सुस्ता गाउँपालिका– १ फेचुवाका ५१ वर्षीय किशोर पथरकट्ट सामाजिक र राजनीति दुवैमा सक्रिय छन् । उनलाई झट्ट हेर्दा उनको पहिरन, बोली–ब्यवहारले उनी उनकै समुदायभन्दा फरक देखिन्छन् । समाजमा अलि फरक पहिचान बनाएका उनलाई नवलपरासीमा सबैले चिन्छन् । उनी दुई दशकयता माओवादी पार्टीमा आवद्ध छन् । उनी भन्छन्, ‘‘पहिला राजनीतिबारे केही पनि थाहा थिएन । राजनीतिमा आए धेरै कुरा सिके, पहिला कसैका अगाडि बोल्न सक्दिनँ थिए, अब मञ्चमा सजिलै बोल्न सक्छु ।’’ तर उनको तुलनामा उनकै समुदायका युवाहरु अझै पछाडि छन् । किशोर पथरकट्ट पढे–लेखेका त छैनन् । तर आफ्नो हकअधिकारका सवालमा जानकार छन् । उनी भन्छन्, ‘‘यो सब राजनीतिको देन हो ।’’स्थानीय तहको निर्वाचन २०७९ मा सुस्ता–१ बाट उनी वडा सदस्यमा उम्मेदवार बने । माओवादी पार्टीबाट वडा सदस्यबाट उम्मेदवारी दिएका उनी १ सय ७० मतमा सीमित भए, जहाँ चुनाव जित्न उनलाई ९ सय ५३ मत बढी चाहिन्थ्यो । उनी भन्छन्, ‘‘२०८४ को स्थानीय तहको चुनावमा पनि वडा सदस्यमा उम्मेदवारी दिने सोचमा छु । सुरुवात वडा सदस्यबाटै गर्ने हो ।’’ किशोर राजनीतिमा सक्रिय भएपनि आफ्नो पेसालाई पनि निरन्तरता दिँदैछन् । उनी भन्छन्, ‘‘हातबाट सिलौटा, जाँतो जस्ता सामान बनाउँदै आएका छौँ । तर सरकारी वास्ता छैन, हाम्रो पेशा धरापमा पर्दै गएको छ ।’’ उनी पत्थरकट्ट समुदायका हुन् । नेपाल सरकारले पत्थरकट्ट समुदायलाई लोपोन्मुख अल्पसङ्ख्यक जातिमा सूचीकृत गरेको छ ।
नेपालका जातजातिमध्ये नवलपरासी, रुपन्देही र कपिलवस्तुमा बसोबास गर्ने अल्पसङ्ख्यक समुदायमा पत्थरकट्ट पनि पर्छन् । आफ्नै मातृभाषा र परम्परा, रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, फरक सामाजिक संरचना र लिखित र अलिखित इतिहास भएका जाति वा समुदाय हुन् । पत्थरकट्ट जातिको परम्परागत पेसा ढुङ्गाको लोहोरो, सिलौटो बनाएर बिक्री गर्नु हो । त्यसबाट आएको आम्दानीले जीविकोपार्जन गर्छन् । जङ्गल किनारहरूमा खरका बुकुरा बनाएर तथा कतै पाल टाँगेर बसोबास गर्नेहरू चाहिँ चुरेक्षेत्रमा खोलाका ढुङ्गा जम्मा पार्छन् । त्यसैबाट आकर्षक लोहोरो, सिलौटा बनाउँछन् । घर–घरमा पुर्याउँदै बेच्छन् ।

अल्पसङ्ख्यक सीमान्तकृतका रूपमा सूचीकृत भएको हुँदा सरकारले प्रतिमहिना ४ हजार रुपैयाँ उपलब्ध गराउँछ । यसबाट छोराछोरी पढाउन र उपचार गर्न तथा दैनिक खर्च धान्न अलि सहज भएको देखिन्छ । कतिपय आफ्नो पेसा छाडेर अन्य काममा पनि लागेको पाइएको छ । उनी भन्छन्, ‘‘पथरकट्ट समुदायलाई सरकारले भत्ता त दिन्छ । तर अरु कुरामा चासो देखाउँदैन । त्यति सुविधाले अब पुग्दैन । यो समुदायका बालबालिकाको शिक्षा, स्वास्थ्य लगायत सिपमूलक विकासका लागि सरकारले बजेट छुटयाउनुपर्छ । यो पेसाले अब खान–लाउन पुग्दैन, यो समुदायका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा पुग्न आवश्यक छ ।’’

२० जनाको परिवार भएका किशोरको घरमा सबै यही पेशा गर्दै आएका छन् । दिनभरि ढुङगाका सामाग्रीहरु सिलौटा–जातो बनाउँछन् । आधुनिक मिक्चर मेसिन बजारमा आएकासँगै पहिलाजस्तो सिलौटाको बजार घटेको उनको अनुभव छ । पहिला पहिला ब्यापार पनि एकदमै राम्रो हुन्थ्यो । जिविकोपार्जन पनि राम्रै हुने गथ्र्याे । उनी पोखरा–काठमाण्डौ लगायतका क्षेत्रमा सिलौटाका ब्यापार गरेको सुनाउँछन् । एक दिनमा १२ वटाभन्दा बढी बेच्ने गरेका उनी अब ब्यापार नै कम हुँदै गएको बताउँछन् ।

पहिला पहिला तीन सय रुपैयाँमा सिलौटो बेच्ने गर्थे । अब मूल्य बढेर १५ देखि १६ सयसम्म पुग्यो, तर ब्यापार छैन । उनी भन्छन्, ‘‘स्थानीय तहले सीप दिएर बजारीकरणमा सहयोग गरे मात्र यो समुदायको पेसा जोगिन सक्छ ।’’ यी जातिको पुख्र्याैली भारतको उत्तर प्रदेशस्थित बिहार हो । त्यहाँबाट उनीहरू नेपालको तराईका जिल्लामध्ये पनि नवलपरासी, रुपन्देही, कपिलवस्तु जिल्लामा यिनीहरु स्थायी रुपमा बसोबास गर्दै आएका छन् ।

गुडियाको चुनावी यात्रा


रुपन्देहीको मायादेवी गाउँपालिका–८ की ४७ वर्षीय गुडिया पथरकट्ट आफ्नो पेसा गर्न जान्दिनन् । सानैदेखि स्कुल जाने भएकाले आफनो परम्परागत पेशा गर्नु नपरेको बताउछिन्, उनी । गुडिया एसएलसीसम्म अध्ययन गरेकी छन् । उनी मायादेवी गाउँपालिका–८ मा रहेको जनचेतना माध्यमिक विद्यालय ब्यवस्थापन समितिको सदस्य पदमा पनि छिन् । उनको यो दोस्रो कार्यकाल हो ।

गुडिया सामाजिक क्रियाकलापलगायत अन्य काममा पनि अगाडि छिन् । तर उनको समुदायका महिलाहरु भने अझै पनि धेरै पछाडि परेका छन् । पूर्व शिक्षिका गुडिया २०७९ सालको चुनावमा रुपन्देही क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिइन् । उनले समुदायगत पहिचानको लोहोरो–सिलौटो चुनाव चिन्ह पाइन्, ३४ मत पाएकी थिइन । उनी भन्छिन्, ‘दुई लाख खर्च गरेर चुनाव त लडे । तर जित्न नसके पनि हिम्मत भने हारेको छैन । स्वतन्त्रबाट उम्मेदवारी दिएपछि अन्य पार्टीबाट बोलाए पनि जान मन लागेन ।’’ उनले अरु जातिले उम्मेदवारी दिइरहँदा यो समुदायको अस्तित्व निम्ति उम्मेदवारी दिएको बताइन् । अर्काे पार्टीमा भोटर बैंकको रुपमा मात्र प्रयोग हुने भएकाले आफ्नै पार्टी दर्ता गर्ने उनको योजना छ ।

उनी आउँदो चुनावमा रुपन्देही– ३ बाटै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने उनको सोच छ । गुडियाका श्रीमान मुक्ति पथरकट्ट बिएडबाट एमए गरेका छन् । नेपालभरिमा यो समुदायबाट सरकारी जागिर गर्ने उनी पहिलो हुन् । उनी सरकारी शिक्षक हुन् । श्रीमान शिक्षित भएपछि गुडियालाई समाजमा अघि बढन धेरै सहज छ । उनी श्रीमानको पूर्ण सहयोगले राजनीतिमा आएकी हुन् । गुडिया भन्छिन्, ‘‘मेरो समुदाय एकदमै पछि परेको छ । शिक्षित नहुदा जनचेतनाको पनि उत्तिकै अभाव छ भने पढेलेखेका मानिस पनि राजनीतिमा खासै आउँदैनन् ।’’उनी आफ्नो समाजको विकास र यो समुदायलाई अघि बढाउन राजनीतिमा आएकी हुन् ।

पेसा संकटमा परेसँगैको चिन्ता

ढुङगाको मूर्ति, सिलौटा बनाउन दिनहु  ब्यस्त रहने नवलपरासी रामग्राम नगरपालिका–१ सहुवाटिकरका हरि पथरकट्ट कामको खोजीमा छन् । ३८ वर्षीय हरि सिलौटा र ढुङगाका अनेक डिजाइनका आकर्षण मूर्ति बनाउन जानेका छन् । तर उनी आफनो पेसाबाट सन्तुष्ट छैनन् ।
सात जनाको परिवार पाल्दै आएका उनी नयाँ आधुनिक मेसिन आएपछि सिलौटाको व्यापार फिटिक्कै नभएको बताउँछन् । अलि अलि मूर्तिको माग भए पनि समयमा बिक्री नहुदा आर्थिक जोहो गर्न समस्या भएको बताउँछन् ।

उनी नवलपरासीको सुनवल, बर्दघाट क्षेत्रमा साइकलमा सिलौटा बेच्ने गर्छन् । सिलौटा बिक्री घट्दै गएकामा उनी चिन्तित छन् । उनी पढे–लेखेका छैनन्, तर मूर्ति बनाउन पोख्त छन् । तर चाहे जति अर्डर नआउँदा उनी आफनो गुजारा कसरी चलाउने चिन्तामा छन् । उनी ६ महिनादेखि २ वटा मूर्ति बनाएर राखेका छन् । तर समयमा नबिक्दा त्यत्तिकै थन्किएको छ ।

उनी मूर्ति र सिलौटा बनाउन सुनवल नगरपालिकाको भुमही खोलाबाट साइकलमा ढुङगा लोड गरेर ल्याउने गर्छन् । उनी भन्छन्, ‘‘समितिबाट कागजपत्र बनाएर कर तिरेर मात्र ल्याउने गर्छु । साइकलमा ढुङगा ल्याउन पनि समस्या छ । समितिले कर नतिरे ल्याउन दिँदैन ।’’
उनी कुनै पार्टीमा छैनन्, उनलाई राजनीतिबारे रस पनि छैन । उनी राजनीतिमा नभए पनि मतदानमा भने भाग लिन्छन् । चुनावमा भोट माग्न पार्टीका नेताहरु आउने गरेको र जितिसकेपछि फर्केर नहेर्ने अनुभव उनको छ । उनी भन्छन्, ‘‘पार्टीले कहाँ हेर्छ र ? भोट मात्र दिने हो, जिते पछि दैलोमा फर्केर पनि हेर्न आउँदैनन् । राजनीतिमा गए घर कसले चलाउँछ, आर्थिक जोहो कसले गर्छ, पेट पाल्न गाहो छ, राजनीति त सोचेको छैन ।’’


उनी जसरी नै रामग्राम– १ सहुवाटिकरका गोपी पथरकट्ट पनि परम्परागत पेशामा छन् । श्रीमती, एक छोरी गरी तीन जनाको उनको परिवार छ । ४० वर्षीय गोपी आफ्नी छोरीलाई स्थानीय बोर्डिङ्ग स्कुलमा पढाउँछन् । आर्थिक अवस्था कमजोर भए पनि ११ वर्षीय आफनो छोरीलाई शिक्षा दिएर आत्मनिर्भर बनाउने उनको चाहना छ ।उनी भन्छन्, ‘‘सिलौटो बनाउने आफ्नो पेशा र ब्यापार भए पनि खान–लाउन मात्र पुग्छ । दिनभरि घाम पानी नभनी उनी परासी भेगमा साइकलमा सिलौटा बेच्ने गर्छन् । कहिले दिनमा एउटा त कहिले त्यो पनि बिक्दैन ।’’


रुपन्देही ओमसतिया–५ पटखौलीका दुखी पथरकट्ट ५३ वर्षका भए । उनको आधा उमेर सिलौटा बनाउँदैमा बित्यो । उनी आफनो पेसा संकटमा पर्दै गएकामा चिन्ता गर्छन् । दुखी विपन्न समुदायका हुन । उनीसँग अर्काे सीप छैन । कहिले काँही सिजनको बेलामा मजदुरी गर्छन् । दुखीको परिवार १९ जनाको छ । दुखी पढेलेखेका छैनन् । उनको राजनीतिमा खासै रुचि पनि छैन । उनी घर कसरी चलाउने, बनाएका सिलौटा कहाँ बेच्ने चिन्तामै दिन बित्ने गरेको बताउँछन् । उनी निर्वाचनको बेला भोट दिन पनि जान्छन् । तर राजनीतिक दलप्रति खासै चासो नभएको बताउँछन् । उनको आफ्नो नाममा जग्गा छैन । गाउँपालिकाले कति बेला हटाउँछ भन्ने चिन्तामै छन् । उनी भन्छन्, ‘‘सिलौटा बिक्री भए मात्र आफनो परिवारको गुजारा चल्छ नभए भोकै पनि रात काटनुपर्छ ।’’ राजनीतिमा रुचि नभए पनि कार्यक्रमहरु बोलाएको खण्डमा जाने गरेको बताउँछन् । उनी भन्छन्, ‘‘हाम्रो समुदायमा अगुवा नभएर होला हामी राजनीतिमा पछि परेका छौं ।’’
उनले घर निर्माण लागि ओमसतिया गाउँपालिकामा पटक–पटक फारम भरे पनि नाम काटिने गरेको बताए । उनकै भनाइमा, घर बनाउन ४ पटक फारम भरेका थिए । तर एकपटक पनि वडाबाट आफ्नो नाम आएन ।

दलहरु राजनीतिमा तान्दै

नेपाली कांग्रेस नवलपरासीका कार्यवाहक अध्यक्ष विक्रम यादव कामकै सिलसिलामा एकै ठाउँमा बसोबास नहुने, पेसाका लागि यो समुदाय कहिले कहाँ कहिले कहाँ जाने क्रममा राजनीतिबाट टाढा गएको हुन सक्ने उल्लेख गर्छन् । यो समुदाय जनसंख्या कम भएको जाति भएकाले शिक्षा र राजनीतिमा अघि ल्याउन नेपाली कांग्रेसले पहल गर्ने बताए । उनी भन्छन्, ‘‘यो समुदायलाई राजनीतिमा ल्याउन पनि सहज छैन । राजनीतिमा ल्याउन प्रयास गरे पनि उनीहरुसँग खेतबारी नहँुदा जता ढुंङगा पाइन्छ त्यतै बसोबास गर्ने भएकाले गर्दा पनि राजनीतिमा आउन नचाहेको देखिन्छ । राजनीतिभन्दा पहिला गासबास कपासको आवश्यकता भएकाले यो समुदाय खासै राजनीतिमा आएको भेटिँदैन ।’’

राजनीति गर्ने कि पेट पाल्ने जोहो ?

कुस्बधिया उत्थान संघ नवलपरासीका जिल्ला अध्यक्ष प्रमोद पथरकट्ट आफ्नो समुदायका ब्यक्तिहरु शिक्षाको पहुँचमा पुग्न नसकेको बताउँछन् । उनका अनुसार, ५४ घरधुरी रहेको नवलपरासीमा यो समुदायको जनसंख्या २ सय ७८ छ । जसमा महिला १ सय ४० र पुरुष १३८ जना छन् जसमध्ये ८६ जना बालबालिका छन् ।

उनको भनाइमा, ‘‘राजनीतिमा आउन मुख्य कुरा शिक्षा र आर्थिक भएकाले यो समुदाय राजनीतिमा आउन कठिन छ । आर्थिक अवस्था कमजोर उसैमा साँझ बिहान कसरी छाक टार्ने समस्या झेल्दै आएका यो समुदाय पेट पाल्न जोहो गर्ने कि राजनीतिमा जाने ? यो समुदायका बालबालिका सुरुमा पढेर आफनो खुटटामा उभिन सके मात्र त्यसतर्फ सोच्न सक्छन् ।’’ बताए ।

लोपउन्मुख अल्पसङ्ख्यक जातिको सूचीमा रहेको पथरकट्ट समुदायको जनसंख्या नेपालभरिमा तीन हजार ४ सय ४३ छ । पत्थरकट्ट जातिभित्रै पनि सामाजिक सांस्कृतिक विविधता पाइन्छ । पत्थरकट्ट जातिको आफ्नो छुट्टै मातृभाषा छ । यसलाई गिहारा भाषा भनिन्छ ।
तर धेरैजसो भोजपुरी र अवधि संस्कृतिमा हुर्केकाले ठाउँ अनुसारको स्थानीय भाषा बोल्ने गर्छन् । शिक्षा, स्वास्थ्य, रोजगारीबाट समेत वञ्चित यो समुदाय बिस्तारै शिक्षासँग जोडिए पनि उनीहरुको दैनिकी भने कष्टकर छ ।

प्रकाशित मिति: २०२५-०१-२१ , समय : १०:४५:०७ , ३ घन्टा अगाडि