रुपन्देही खबर , ४९ पटक हेरिएको
भैरहवा, माघ १
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न अन्तर नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ को उपाधि रुपन्देही लिलाराम माध्यमिक विद्यालयले जितेको छ । उपाधि जितेसँगै लिलारामले प्रतियोगिताको रनिङ शिल्ड प्राप्त गर्न सफल भएको छ । त्यस्तै मुनलाइट आवासीय माध्यमिक विद्यालय द्वितीय र काशी नोबल एकेडेमी तृतीय भएका छन् ।
प्रतियोगितामा ११ स्वर्ण, १२ रजत, १० कास्य पदक प्राप्त गरी लिलाराम माध्यमिक विद्यालय प्रथम भएको हो । त्यस्तै १० स्वर्ण, ७ रजत र ५ कास्य पदक प्राप्त गर्दै मुनलाइट द्वितीय भएको हो । त्यसै गरी ४ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित काशी नोबल एकेडेमी तृतीय भएको हो । प्रतियोगिता अन्तर्गत तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल भएका थिए । भलिबलतर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ वटा टीमको सहभागीता थियो ।
त्यस्तै, कबड्डीतर्फ १३ विद्यालयका छात्रहरुको ११ टीम र छात्राहरुको १० टीमको सहभागीता थियो । तेक्वान्दोतर्फ १५ विद्यालयका छात्रतर्फ १० र छात्रातर्फ १२ टीमको सहभागीता थियो । एथलेटिक्सतर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० जनाको सहभागीता थियो । प्रतियोगिता अवधिभर ४२ वटा इभेन्टमा खेल भएका थिए । प्रतियोगितामा २७ विद्यालयका ६ सय ५० छात्र र ६ सय ३९ छात्रा गरी १ हजार २ सय ८९ जना विद्यार्थीहरुको सहभागीता रहेको शिक्षा अधिकृत जानह्वी पाण्डेले जानकारी दिनु भएको छ ।
सबै इभेन्टतर्फ प्रथम, द्वितीय र तृतीयलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता सञ्चालनका लागि तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिथी, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्र बहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको थियो ।
तीनदिने प्रतियोगिताको समापन कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले धैर्यता र अनुशासन नै मानिसको सफलताको कडि भएको बताए । उनले विजयी खेलाडीलाई बधाई दिदै उपविजेताहरुलाई अझ मिहिनेत गर्न आग्रह गर्नु भएको छ ।
नगर उपप्रमुख उमा अधिकारीले प्रत्येक विद्यार्थीहरु अनुशासित हुनुपर्ने कुरा बताउँदै, राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्न शुभकामना व्यक्त गर्नु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत जनक थापाले पछिल्लो समय यो राष्ट्रपति रनिङ शिल्ड स्थानीय सरकारको गौरवको रुपमा रहेको उल्लेख गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०१-१४ , समय : ०७:४९:४५ , १३ घन्टा अगाडि