रामग्राम बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा सम्पन्न

सुरेश यादव , १०२  पटक हेरिएको

परासी, पुस २७

पश्चिम नवलपरासीको परासीमा रहेको रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अनिल कुमार शर्माको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख अतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा आ. व. २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव मुक्तिप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । संस्थामा हाल १८५ पुरुष १३४ महिला र १ अन्य सेयर सदस्य रहनुभएको छ भने ७३ जना बाल बचतकर्ताहरू रहनुभएको संस्थाका सचिव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको कुल सेयर पुजी ५३ लाख ५७ हजार ७ सय रहेको बताउनुभयो ।

लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा संयाेजक अमरदीप गुप्ताले संस्था २०८०/०८१ मा कुल रु २ करोड ९१ लाख ८ हजार ९ सय ८३ बराबरको कारोबार गरेको छ भने सम्पूर्ण खर्च घटाई रु १ लाख ५० हजार २ सय ८१ शुद्ध नाफा गर्न सफल बताउनुभएको छ । संस्थाका कोषाध्यक्ष सूर्यनाथ दास पटेलले ३ सय ४१ बाट ६ सय सेयर सदस्य पुर्‍याउने जानकारी दिनुभयो । संस्था २२ वर्ष अगाडि २०५९ सालमा डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भई २५ जना शेयर सदस्यहरूबाट स्थापना गरिएको संस्थाका अध्यक्ष शर्माले जानकारी दिनुभएको छ ।

कार्यक्रममा रामग्राम नगरपालिकाकी पूर्व उपप्रमुख रम्भा कुवर,संस्थाका पूर्व अध्यक्ष राजकुमार रेश्मी,पूर्व अध्यक्ष जनार्दन ठाकुर र उपाध्यक्ष चन्द्रमणि चौधरी लगायतले बोल्नुभएको संस्थाकी व्यवस्थापक रमा गौतमले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२५-०१-११ , समय : १७:४१:५६ , ३ दिन अगाडि