रुपन्देही खबर , ५० पटक हेरिएको
देवदह, पुस २६
आगामी माघ ३ देखि ५ गतेसम्म रुपन्देहीको देवदहमा हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन आयोजक र मिडियाकर्मी बिच अन्तरक्रिया गरिएको छ । केरवानी माध्यमिक विद्यालयमा मिडियाकर्मीसङ्ग शुक्रवार मिडियाको तर्फबाट गरिने प्रचारप्रसार तथा प्रतियोगिता सम्पन्न गर्न सञ्चार संस्थाको भूमिकाको विषयमा छलफल गरिएको हो ।
अन्तरक्रियामा केरवानी माविका प्रधानाध्यापक निर्मल ढुंगानाले प्रतियोगितालाई विवाद रहित र व्यवस्थित रुपमा सम्पन्न गर्न आवश्यक तयारी गरिएको बताउनु भएको छ । पर्याप्त स्रोत र पूर्वाधार अभावका बाबजुद नगरबाद बिनियोजित रकमबाटै खेल सम्पन्न गर्नेगरि विद्यालयले तयारी गरेको र सोहि अनुसारको खेलमैदान मर्मतको काम भैरहेको प्रधानाध्यापक ढुंगानाले बताउनु भयो ।
केरवानी माविको संयोजनमा हुने प्रतियोगिताको लागि नगरपालिकाले ९ लाख रुपैंया बजेट बिनियोजन गरेकोे छ । राष्ट्रपती रनिङ शिल्डको उद्घाटन विद्यालय प्राङ्गणमा हुने र पानबारी खेलमैदानमा बाँकी खेलहरु हुनेछन् ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले खेल सम्पन्न गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भएको छ । खेल अवधिभर खेलाडीहरुको सामूहिक बीमाको व्यवस्था गरिने समेत उहाले जानकारी दिनु भएको छ ।
कार्यक्रममा रेडियो देवदहका समाचार प्रमुख गोविन्द घर्ती, देवदह साप्ताहिकका तिलोचन दाहाल, देवदह प्रेस क्लबका सचिव निर्मल थापा, बुद्द टेलिभिजनका केशब पराजुली, सेतोमसी मिडियाका रेशम अधिकारी र सिम्रीक आवाजका सुरज भट्टराई लगायले बोल्दै रनिङ शिल्ड सफल बनाउन मिडियाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष विरेन्द्र पाण्डेको अध्यक्षता र सहायक प्रधानाध्यापक खेमानन्द ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: २०२५-०१-१० , समय : २०:३४:३० , ३ घन्टा अगाडि