ओमसतिया ३ मा निःशुल्क मधुमेह परीक्षण शिविर सम्पन्न

रुपन्देही खबर , ९३  पटक हेरिएको

भैरहवा, पुस २४

१४६ औं मेल्वीन जोन्स डे को अवसरमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ३ मा निःशुल्क मधुमेह (सुगर) परीक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ सिद्धार्थनगर लेडी ग्लीम, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ र लियो क्लब अफ रुपन्देहीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल अन्तर्गत एरिया–५ का एरिया चिफ अभिनव मयुर कसौधनले पछिल्लो समय मधुमेह रोगबाट पीडित मानिसको संख्या बढ्दै गएकाले यस्तो शिविरले समयमै रोग पहिचान गर्न सहयोग गर्ने बताउनु भएको छ । उहाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गर्नु भएको छ ।

१४६ औं मेल्वीन जोन्स जन्मदिन उत्सव को अवसरमा मेल्वीन जोन्स सर्भिस वीक (सप्ताह) अन्तर्गत कार्यक्रम गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर लेडी ग्लीमकी अध्यक्ष किरन गुप्ताले जानकारी दिनु भएको छ । अध्यक्ष गुप्ताका अनुसार रिलायबल डाईनोष्टिक प्रा.लि.को प्राविधिक सहयोगमा मंगलबार भएको शिविरमा १ सय जना भन्दा बढीको मधुमेह परीक्षण गरिएको थियो ।

कार्यक्रममा रिजन चेयरपर्सन तनु शर्मा कसौधन, जनमत पार्टीको केन्द्रिय सदस्य रामु यादव, निर्माण ब्यवसायी संघका अध्यक्ष गोरख चाई, समाजसेवी रमेश धवल लगायतले आ आफ्नो भनाइ राख्नु भएको थियो ।

लायन्स क्लब अफ सिद्धार्थनगर लेडी ग्लीमको अध्यक्ष किरन गुप्ता, सिद्धार्थनगर लेडी युथको अध्यक्ष मनिषा थापा कसौधन र लियो क्लब अफ रुपन्देहीको अध्यक्ष दिया गुप्ताको अध्यक्षता तथा कार्यक्रम संयोजक लायन अन्नु जैसवालको संयोजकत्वमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा शिविर कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति: २०२५-०१-०८ , समय : १०:३७:०९ , १७ घन्टा अगाडि