शितलहरका कारण नवलपरासीमा दाउन्ने सडक खण्ड अवरुद्ध

प्रकाश न्यौपाने , १४३  पटक हेरिएको

नवलपरासी,पुस २४

पश्चिम नवलपरासी र पुर्वी नवलपरासीको सिमानामा पर्ने दाउन्ने सडक खण्ड शितलहरले अवरुद्ध भएको छ । बर्दघाट -४ खुर्सानी खोला स्थित पूर्व-पश्चिम राजमार्गमा गएरातिदेखि बाक्लो हुस्सुका कारण सडक अवरुद्ध भएको हो । चिसोका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सोमबार राती देखि परेको शितलहरका कारण सडक चिसो र चिप्लो भएको सवारी साधन चलाउनसमेत कठिन भएको छ । केहि दिन देखीको प्रतिकूल मौसमका कारण सडक चिप्लो भई यातायात सञ्चालनमा पूर्ण रुपमा अवरोध पुगेको हो। प्रहरीले दिएको जानकारी अनुसार, दुवैतर्फ गरी करिब २०० देखि २५० वटा सवारी साधन बाटोमै रोकिएका छ्न ।

प्रहरी टोली घटनास्थलमा पुगेर बाटो खुलाउने प्रयासरत रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दाउन्ने सडक खण्डमा बिहानदेखि एकतर्फी रुपमा सवारी साधन चल्न थालेको छ। तर, सडक अझै चिप्लो भएकाले मालवाहक सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको छ।

सम्बन्धित निकायहरूले यात्रुहरूको सहज आवागमनका लागि आवश्यक पहल गरिरहेका छन्। यात्रुहरूलाई सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: २०२५-०१-०८ , समय : १०:०३:३२ , १८ घन्टा अगाडि