रुपन्देही खबर , ६६ पटक हेरिएको
भैरहवा, पुस २१
श्री दुर्गा मन्दिर नयाँगाउँ रानीगाउँ समाजको ११औ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सिद्धार्थनगर वडा नम्बर १ स्थित पक्लिहवामा सम्पन्न भएको छ । समाजका अध्यक्ष याम बहादुर थापाको अध्यक्षता तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय सदस्य एवं युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले व्यक्तिको आवश्यकतालाई परिवारले मात्र पूरा गर्न नसक्ने हुँदा समाजको निर्माण हुने बताउनु भएको छ । उहाले एउटा असल समाजले त्यहाँका बासिन्दाहरुलाई मात्र नभइ सिंगो राष्ट्रका लागि नै टेवा पुर्याउने भएकोले शैक्षिक, आर्थिक, धार्मिक, साँस्कृतिक तथा सुशासनको विकासमा सबैले योगदान दिनुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा समाजका पूर्वअध्यक्षहरु भुपु मेजर अर्जुन विक्रम शाह, खुशीमान गुरुङ्ग, लिल बहादुर थापा, चेत बहादुर गुरुङ्ग लगायतलाई सम्मान गरिएको थियो ।
त्यस्तै पूर्वअध्यक्ष स्व. तिलक गुरुङ्ग, स्व. धनलाल गुरुङ्ग, मुर्तिकार भुपु प्रहरी उपरिक्षक स्व.हर्ष ध्वज राई, समाजसेवी स्व.चन्द्र बहादुर गुरुङ्ग र स्व.सन्त कुमार गुरुङ्गलाई मरणोपरान्त सम्मान अर्पण गरिएको समाजले जनाएको छ ।
कार्यक्रममा पूर्व वडाअध्यक्ष रमेश मल्ल, समाजका सल्लाहकार केश बहादुर गुरुङ्ग, पूर्वअध्यक्ष खुशीमान गुरुङ्ग लगायतले आगामी दिनमा समाजले गर्नुपर्ने भूमिकाको बारेमा प्रकाश पार्नु भएको थियो ।
साधारण सभामा सचिव नन्द बहादुर रानाले चालु आर्थिक वर्षमा समाजले गरेका कार्यहरुको सम्बन्धमा वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो । त्यस्तै कोषाध्यक्ष जितेन्द्र गुरुङ्गले ७ लाख ९७ हजार ७ सय २४ रुपैयाँको आय–व्यय तथा कुल ३२ लाखको विभिन्न पूर्वाधार निर्माणसम्पन्न प्रतिवेदन पेश गर्नु भएको थियो ।
कार्यक्रममा समाजको विकासका लागि युवा समुहद्वारा देउसीभैलो खेलेर बचत गरेको रकम १ लाख ३० हजार रुपैयाँ युवा नेतृ प्रिया गुरुङ्गले समाजका अध्यक्ष याम बहादुर थापालाई हस्तान्तरण गर्नु भएको थियो । समाजका उपाध्यक्ष कला गुरुङ्गको स्वागत तथा सचिव नन्द बहादुर रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२५-०१-०५ , समय : ०७:१६:५० , २ दिन अगाडि