एच.आई.भी.संक्रमित महिलाहरुको राष्ट्रिय महासंघ लुम्बिनीद्धारा तिलोत्तमामा अन्तरक्रिया

एच.आइ.भी. संक्रमितहरुको महिना अभियान घोषणा हुनुपर्ने माग

उर्मिला यादव यात्री , ६४५  पटक हेरिएको

भैरहवा,पुस २०

एच.आई.भी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघ लुम्बिनीले साकार समुह नेपाल रुपन्देहीको समन्वयमा प्रदेश स्तरीय सरोकारवाला संग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणी ज्ञवालीको अध्यक्षतामा शुक्रबार तिलोत्तमामा भएको अन्तक्रिया कार्यक्रममा गाथा संजाल रुपन्देहीले बिभिन्न मागहरु राख्दै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा एच.आई.भि.संगै बाचिरहेका नागरिकहरु पनि सबै सरह समाजमा सम्मानपुर्वक खुलेर बाच्न पाउने अधिकार सुनिश्चित हुुनुपर्ने र सोका लागी एच.आइ.भी. संक्रमितहरुको महिना अभियान घोषणा हुनुपर्ने, समाजमा काबाको छुटटै कानुनी पहिचान हुनुपर्ने, एचआईभी पछिको समयलाई ध्यानमा राख्दै सम्बन्धित निकायबाट प्रमाण स्वरुप काबा परिचय पत्रको व्यवस्था हुनुपर्ने, संगसगै एचआईभी सम्बन्धित कानुनमा समेत काबालाई परिभाषित गरि शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, शैक्षिक आरक्षण तथा रोजगार संग सम्बन्धित प्रावधान हुनुपर्ने, एचआईभी संगै बाँची रहेका नागरिकको निशुल्क स्वास्थ्य उपचार तथा परिक्षण हुनुपर्ने जस्तै नियमित बार्षिक परीक्षण ऋम्द्ध, मुटु, कलेजो, सम्भावित संक्रमण, मृगौला परिक्षण, तथा क्यान्सर स्क्रीनिंगको, सहज व्यवस्था हुनुपर्ने, प्रत्येक वर्ष राष्ट्रिय काबा सम्मेलन हुनुपर्ने तथा राष्ट्रिय र जिल्ला स्तरको एड्स सम्मेलन हुनुपर्ने, काबाको निम्ति दिदै आएको सामाजिक सुरक्षा अनुदान रकम सधैका लागि निरन्तरता हुनुपर्ने र १८ वर्ष पार गरिसकेपछि युवाका लागी नेपाल सरकार प्रदेश तथा स्थानीय सरकार साथसाथै विश्वविद्यालयबाट उच्च शिक्षाका निम्ति छात्रवृत्तिमा आरक्षणको व्यवस्था हुनुपर्ने, साथसाथै काबाको अवस्था र एच.आई.भी पछिको भविष्यमाधि अनुसन्धान हुनुपर्ने लगायतका मागहरु राख्दै स्वास्थ्य कार्यालय रुपन्देहीका ज्ञवालीलाई ज्ञापनपत्र बुझाइएको हो ।

यस्तै गरी एचआईभी संगै बाची रहेका किशोर, किशोरी तथा काबा युवा नागरिकलाई निरन्तर परामर्स तथा अभिमुखिकरण तालिम तथा कार्यक्रम व्यवस्था हुनुपर्ने, वैदेशिक शिक्षा, शैक्षिक छात्रवृत्ति, बैदेशिक रोजगार र सेना सेवा प्रवेशमा सहज प्रावधान हुनुपर्ने, बालबालिका, किशोर किशोरी तथा काबा युवा मैत्री ए.आर.टि क्लिनिकमा साइड इफेक्ट व्यवस्थापन, प्रजनन, मानसिक स्वास्थ्य तथा परामर्स सेवा उपलब्ध गराउनु पर्ने,संगठनात्मक काबा संजालको विकास हुनुपर्ने र रुपन्देही जिल्लाका संक्रमित युवा समुहमाथि फैलिएको भ्रामक समाचार, सुसमाचार बाट प्रतिस्थापन गर्नुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझदै स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख ज्ञवालीले गाथा संजाल रुपन्देहीका मागहरु एकदमै संबेदनशील भएकोले यसलाई सम्बन्धित निकाय स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार, मुख्यमन्त्री लगायतसंग समन्वयकारी भुमिका निर्वाह गरी काम गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले उठेमा कुराहरुमा स्वास्थ्य कार्यालय रुपन्देही एकदमै सकरात्मक रहेकोले ति मागहरु सम्बन्धित मन्त्रालयमा लैजाने र आफुहरुले गर्न सक्ने सम्पुर्ण कामहरु गर्न तयार रहेको समेत बताउनु भयो ।

यस्तै गरी अन्तरक्रिया कार्यक्रममा एच.आई.भी.संक्रमित महिलाहरुको राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश फोकलपर्सन रम्भा श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्दै बि.स. २०६४ सालमा स्थापना भएको महासंघ स्थापनाकाल देखी नै एच . आई.भी. संक्रमित महिला , बालबालिका , र युवाहरुको स्वास्थ्य अधिकार एवम मौलिक अधिकार सुनिश्चितता संगै लान्छना तथा भेदभाव सहित समाज निमार्णका लागी काम गर्दै आइरहेको बताउनु भएको छ । उहाले २८ वटा सदस्य संस्थाहरु आबद्ध रहेको महासंघ ३५ जिल्लाहरु मार्फत ७ वटै प्रदेशमा आबद्ध संस्था र साझेदार संस्थाहरु मार्फत कामहरु ग आएको जानकारी दिदै काम गर्दा आइपरेको चुनौती र आगामी योजनाहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

यस्तै गरी साकार समुह नेपाल रुपन्देहीका अध्यक्ष राधिका पुनले कार्यक्रमको सहजीकरण गर्दै जिल्लामा एच.आई.भी संक्रमित तथा प्रभाबितहरुलाई सहभागी बनाइ स्थानिय स्रोत तथा साधनको परिचलान गर्दै हेरचाह,उपचार, परामर्श,जनचेतना र बकालद्धारा उनीहरुको जिवनस्तरमा सुधार गर्ने लक्ष्य र उदेश्य सहित संस्थाले काम गर्दै आएको बताउनु भएको छ । उहाले एच.आई.भी संक्रमित तथा प्रभाबितहरुलाई आत्मनिर्भर बनाउनका लागी सीपमुलक तथा आयमुलक तालिम संचालन गर्ने र कार्यक्रमका लागी सहयोग गर्ने उदेश्य सहित संस्था स्थापना भएको समेत जानकारी दिनु भएको छ ।

कार्यक्रमको सहजीकरण गर्दै गाथा संजाल रुपन्देहीका बाबुराम भटटराईले गाथा संजालमा बिभिन्न जिल्लाबाट ९० जना भन्दा बढी युवाहरु जोडिएको बताउनु भएको छ । उहाले गाथाले काबा बालबालिका , काबा तथा जन्मजात संक्रमित युवाहरुलाई लक्षित गरी मुख्य एजेण्डाका साथ काम गर्र्र्र्दै आएको बताउनु भएको छ । उहाले एच.आई.भी सम्बन्धित लान्छना तथा भेदभावले समाजमा अझै पनि जरा गाडेकाले समाजमा सम्मानपुर्वक खुलेर बाच्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनु भएको छ । एचआइभीबाट सबैभन्दा बढी चपेटामा परेको समुह नै आमाबाट संक्रमित काबा बालबालिका र काबा युवा नै भएकोले उनीहरुले आफनो न्याय र अधिकारको लागी अझै पनि संघर्ष गर्दै आएको बताउनु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका एच.आई.भी फोकलपर्सन टिकाराम अधिकारीले संचालन गर्नु भएको अन्तरक्रिया कार्यक्रममा एफ.डब्लु.एल.डीका नागेन्द्र प्रसाद बस्याल, लुम्बिनी प्रादेशिक अस्पतालका डा. हरेराम पन्थी, शिव बहादुर कुवर क्षेत्री, आस्था समुहका खेमराज हितान , तिलोत्तमा नगरपालिकाका निरन्जन पोखरेल, रबि सेन्चुरी, एमएसएमजीका हिमानी रसाली लगायत बिभिन्न सरोकारबाला निकाय तथा संघसंस्थाका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: २०२५-०१-०४ , समय : ०८:३१:११ , ३ दिन अगाडि