रुपन्देही खबर , ८१ पटक हेरिएको
भैरहवा, पुस १९
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने जनाएको छ । नगरभित्रका सामूदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक तथा शारीरिक विकासलाई लक्षित गरेर प्रतियोगिता गर्न लागिएको नगरप्रमुख इश्तियाक अहमद खाँले जानकारी दिनु भएको छ। उहाका अनुसार यही पुस २७, २८ र २९ गते सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित श्री पक्लिहवा माध्यमिक विद्यालयमा प्रतियोगिता हुनेछ । थप आवश्यक परे पक्लिहवा कृषि क्याम्पसको खेलमैदानलाई समेत प्रयोग गर्न सकिने गरी निर्णय भएको पनि नगरपालिकाले जनाएको छ । प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।
विद्यालयस्तरमारहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिनु भएको छ । प्रतियोगितामा तेक्वान्दो, एथलेटिक्स, कबड्डी, भलिबल जस्ता खेल हुनेछन ।
प्रतियोगिता सञ्चालनका लागि खेल संयोजकहरु पनि तोकिएको छ । तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिती, एथलेटिक्सतर्फ कृष्ण शाक्य, कबड्डीतर्फ महेन्द्र बहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको छ । प्रतियोगितामा सिद्धार्थनगर नगरपालिका अन्तरगत रहेका सामूदायिक र संस्थागत विद्यालयहरुको सहभागीता रहनेछ ।
प्रकाशित मिति: २०२५-०१-०३ , समय : २०:४८:३६ , २ दिन अगाडि