रुपन्देही खबर , ८३ पटक हेरिएको
बुटवल,पुस १४
नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको २३ औं जिल्ला अधिवेशन बुटवलमा सुरु भएको छ । पुष १३ गतेदेखि दुई दिनसम्म चल्ने जिल्ला अधिवेशनको नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष गंगा बहादुर थापाले शनिबार बुटवलमा खुलाशत्रको उद्घाटन गर्नुभएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष प्रेम बहादुर थापामगरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सहअध्यक्ष गंगा बहादुर थापाले राष्ट्र र समुदायका विकासका लागि मगर समुदाय राजनीतिक रुपमा एकजुट हुनुपर्ने आवश्यक्ता रहेको धारणा व्यक्त गर्नुभएको छ । संघले राजनीतिक रुपमा काम नगर्ने भएपनि नेपालको सन्दर्भमा राजनीतिक हैसियत राख्ने भएकाले यसलाई राजनीतिक शक्तिका रुपमा विकास गर्नुपर्नेे समय आएको कुरामा उहाँले जोड दिनुभएको हो । सो अवसरमा बोल्दै संघका अर्का केन्द्रिय सहअध्यक्ष दल बहादुर वीरकट्टामगरले समाज परिवर्तनका लागि समाजमा रहेका पुरातन पद्धतीलाई बदल्न आवश्यक रहेको बताउनु भएको छ ।
समाज विकासका लागि बाधक प्रथा र पद्धतीलाई परिमार्जन गर्दै समाजलाई अगाडि डो¥याउने दिशामा जान आवश्यक रहेको उहाँको भनाई थियो । सो अवसरमा नेपाल मगर संघ लुम्विनी प्रदेश अध्यक्ष डिवी थापामगर लगायतका मगर संघका नेताहरुले बोल्नु भएको थियो । कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष थर्क बहादुर बारघरेको स्वागत तथा सचिव इन्दु थापामगरको सञ्चालनमा सम्पन्न भएको थियो । संघको बन्द शत्र पुष १४ गते अर्थात आज बुटवलस्थित अमर भवनमा नयाँ नेतृत्व चयन सहित सम्पन्न हुने संघले जनाएको छ ।
प्रकाशित मिति: २०२४-१२-२९ , समय : ०५:२०:५७ , ३ दिन अगाडि