उर्मिला यादव यात्री , १३१ पटक हेरिएको
भैरहवा, पुस ९
इलाका प्रहरी कार्यालय रुपन्देहीले ओमसतिया ४ मा नागरिक प्रति उत्तरदायित्व प्रभावकारी एवम गुणस्तरीय सेवा प्रवाहका लागी नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक सुरज कार्कीको अध्यक्षता तथा ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष मन्जित कुमार यादवले ओमसतिया गाउपालिकामा प्रमुख समस्या नै लागुऔषध रहेकोले यसको रोकथाम र नियन्त्रणका लागी गाउपालिकाले सोही अनुसार कार्ययोजना बनाइ काम गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले साना साना बालबालिका मात्र नभइ युवाहरु समेत लागु औषधमा फसेकोले यसको रोकथाममा प्रत्येक अभिभावक आफना बालबालिका प्रति सचेत हुनुपर्ने बताउनु भएको छ । उहाले नागरिक सुनुवाइमा उठेका जनताका समस्याहरुलाई पालिकाले सम्बोधन गर्ने समेत बताउनु भएको छ । गाउपालिका अध्यक्ष यादवले जनतामा जनचेतना अभिबृद्धि गर्नका लागी पालिकाले बिभिन्न किसिमका कार्यक्रमहरु ल्याएको समेत जानकारी दिनु भएको छ ।
यस्तै गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले ओमसतियाका जनताको गुनासो सम्बोधन गर्नका लागी नै नागरिक सुनुवाई कार्यक्रम आयोजना गरेको बताउनु भएको छ । उहाले जनताले प्रहरी माथि बिश्वास गर्न सकेमात्र समाजमा शान्ति सुरक्षा, अमनचयन, अपराध नियन्त्रण लगायत बिभिन्न गैरकानुनी क्रियाकलापको नियन्त्रण गर्न सकिने बताउनु भएको छ ।
उहाले प्रहरीका समेत धेरै कमी कमजोरीहरु हुने भएकाले त्यसमाथि माथिल्लो दर्जाको प्रहरीको निगरानी पुग्न नसकेको अवस्थामा जनताले यसलाई उठान गर्नु पर्ने बताउनु भएको छ । उहाले जनता बर्दी बिनाको प्रहरी भएकोले जनताले दिएका साथ सहयोग र सुचनाको आधारमा नै अपराध नियन्त्रण र अनुसन्धान गर्ने भएकोले सत्य सुचना दिन समेत आग्रह गर्नु भएको छ । सुचनाको स्रोत नै जनसमुदाय र स्थानिय नागरिक भएकोले समाजमा घटेका बिभिन्न अपराधिक क्रियाकलापका बारेमा समयमै जानकारी गराए नागरिकका गुनासो र अपराध नियन्त्रण समयमै गर्न सकिने बताउनु भएको छ ।
उहाले जनताले अपेक्षा गरे अनुसारको पारदर्शी काम प्रहरीले गर्ने भएकोले प्रहरी माथि बिश्वास गर्न समेत आग्रह गर्नु भएको छ । उहाले रुपन्देहीका बिभिन्न क्षेत्रमा चोरीका घटनाहरु बढेकोले यसको नियन्त्रणका लागी प्रहरी लागी परेको बताउनु भएको छ ।
यस्तै गरी ओमसतिया गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष अखिलेश्वर कुमार पाण्डेले ओमसतिया ४ मा प्रहरी बिटको माग गर्दा समेत सुनुवाई नभएको गुनासो गर्नु भएको छ । उहाले सिमा पारीबाट जनताले ल्याएका सामानहरु नरोक्न समेत प्रहरीसंग आग्रह गर्दै किसानलाई मलखाद लगायत अन्य सामानहरु भारतबाट ल्याउन सहज बातावरण बनाउन समेत अनुरोध गर्नु भएको छ ।
यस्तै गरी शान्ति पुर्न स्थापना गृह सिद्धार्थनगर १ बेलहिया रुपन्देही प्रमुख नितेश चौधरीले पछिल्लो समय सिमानाकामा मानव बेचबिखन तथा ओसारपसारका क्रियाकलापहरु बढदै गएकोले यस तर्फ ध्यानाकर्षण गराउदै ओमसतिया गाउपालिका भित्र पर्ने डान्सबार लगायतका होटलहरुमा अनैतिक क्रियाकलापहरु भैरहेकोले यसलाई रोक्नका लागी गाउपालिका लगायत प्रहरीलाई समेत निगरानी बढाउन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा सहभागीहरुले प्रहरीले हरेक ठाउमा अनावश्यक दुख दिने गरेको गुनासो गरेका थिए भने ओमसतिया ४ मा चोरीका घटना दिनप्रतिदिन बढेकोले प्रहरीले सुरक्षा दिन नसकेको गुनासो समेत गरेका थिए । सहभागीहरुले नेपालमा बेच्न नपाइने गुणस्तरहीन औषधीहरु समेत भारतबाट भित्रिने गरेकोले यस तर्फ प्रहरीलाई निगरानी गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा डा. रामप्रसाद बस्याल, डा.रामप्रसाद ढकाल, लाल बहादुर यादव, उदय कुमार गरका आचार्य, नेपाली कांग्रेसका संजय चौधरी लगायतले आ आफनो भनाइ राख्नु भएको थियो । प्रहरी बरिष्ठ नायब निरीक्षक खिम बहादुर खत्रीले संचालन गर्नु भएको कार्यक्रममा ओमसतिया गाउपालिकाका स्थानिय , जनप्रतिनिधी, सरोकारवाला निकाय लगायत बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-१२-२४ , समय : २१:५३:४२ , २ दिन अगाडि