लुम्बिनी विकास कोष कार्यालयमा धर्ना दिएका स्थानीय र प्रहरीबीच झडप

रुपन्देही खबर , १३२  पटक हेरिएको

भैरहवा,पुस ९

लुम्बिनी विकास कोषको कार्यालयमा सोमबार धर्ना दिन पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । लुम्बिनी बचाउ महाअभियान र लुम्बिनी विकास कोषबीच यसअघि भएको १२ बुँदे सम्झौता कार्यान्वयन नभएपछि कोषको कार्यालयमा विरोध प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेको स्थानीयको गुनासो छ । मायादेवी मन्दिरभित्र परम्परागत पूजापाठ गर्न पाउनुपर्ने, अदालतको आदेशविपरीत लगाइएको मायादेवी मन्दिर प्रवेश शुल्क खारेज गर्नुपर्ने, उत्खननका बेला प्राप्त मूर्ति र अस्तुधातु लगायतका सामग्री खोजी गरी लुम्बिनीमै पुनस्थापित गर्नुपर्ने लगायतका माग राख्दै स्थानीयले प्रदर्शन गरेका थिए ।

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले कार्यालय घेराउ गर्न आएका महिलाहरुमाथि प्रहरीले दमन गरेको आरोप लगाउनु भएको छ। उहाले ‘विगतमा भएका सम्झौताहरु कार्यान्वयन किन नभएको भन्दै कार्यालय घेराउ गर्न पुगेका स्थानीयहरुमाथि प्रहरीले लाठी प्रहार गरेको थियो ।’ लुम्बिनी विकास कोषले सम्झौता कार्यन्वयन नगरे अब कडा अन्दोलनमा उत्रिन उहाले चेतावनी दिनु भएको छ । मायादेवी मन्दिरमा पुजा गर्ने परम्परालाई बन्देज लगाई लुम्बिनी विकास कोषमा जग्गादान दिएकाहरुलाई अवहेलना गर्दै कर्मचारी भर्ना गरिएको उहाले आरोप लगाउनु भयो । त्यसै गरी मायादेवी मन्दिरमा प्रवेशको लागि लगाइएको टिकट शुल्क खारेज गर्न माग रहेको समेत बताउनु भएको छ ।

तर, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले समस्या सुल्झाउने भन्दा बल्झाउने गरी केही व्यक्ति लागेकाले समस्या भएको दावी गर्नु भएको छ। उहाले कोषले सहमति गरेका र आफूलाई अधिकार भएका मागहरु पूरा गरेको बताउँदै प्रवेश शुल्क हटाउने विषयमा सम्बोधन गर्न नसकिने बताउनु भएको छ ‘पूजापाठ कसैलाई रोकिएको छैन, कोषले पूरा गर्न सक्ने सबै माग पूरा भएका छन् । लुम्बिनी विश्वमा शान्ति चाहनेहरुको हो भन्ने बुझ्न जरुरी छ’, उहाले भन्नू भयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले प्रहरीले बल प्रयोग नगरेको दावी गर्नु भएको छ । डीएसपी कार्कीले कार्यालयभित्रको भीड नियन्त्रण गर्न सबैलाई बाहिर मात्र निकालिएको प्रतिक्रिया दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-१२-२४ , समय : ०६:२३:०० , ३ दिन अगाडि