रुपन्देही खबर , ८४ पटक हेरिएको
भैरहवा, पुस ७
नेकपा माओवादी केन्द्र सिद्धार्थनगर नगर समिति रुपन्देहीको तेस्रो नगर अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले पुनः नारायण बहादुर हमालको अध्यक्षतामा ५३ सदस्यीन नगर समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा मेराज खान, कमला थापा, केशव कुवर, सचिवमा दिलिप कुमार प्रजापति, कोषाध्यक्षमा प्रेम बि.सी. र सह–सचिवमा जोशन गुरुङ निर्वाचित हुनु भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै पार्टीका केन्द्रीय सचिव तथा पूर्व कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ अहिलेसम्म भएकासबै क्रियाकलापहरुको समीक्षा गर्नुपर्ने बताउनु भएको छ । उहाले जनताको पक्षमा काम गर्ने र २०६४ सालमा पहिलो भएको यो माओवादी केन्द्र किन तेस्रो दलमा खुम्चियो भन्नेबारे समीक्षा गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनु भएको छ । उहाले २०८४ सालमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दावी समेत गर्नु भएको छ । त्यस्तै माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले माओवादीले नै जनतालाई देशको मालिक बनाएको दावी गर्नु भएको छ ।
पार्टीको सिद्धार्थनगर समितिका अध्यक्ष नारायण बहादुर हमालले पद पाउनु मात्र ठूलो कुरा नभइ पाएको पदको जिम्मेवारी निर्वाह गर्नु ठूलो कुरा भएको बताउनु भएको छ ।
प्रकाशित मिति: २०२४-१२-२२ , समय : १६:१८:२४ , ६ घन्टा अगाडि