रुपन्देही खबर , १२२ पटक हेरिएको
भैरहवा, मंसिर ३०
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तीनपांग्रे सवारीसाधन व्यवस्थापनको लागी नियमन सुरु गरेको छ । नगरको ट्राफिक व्यवस्थापनमा चुुनौती थपिएसंगै नगरपालिका भित्र दर्ता भएका अटो, टेम्पो तथा ई–रिक्सालाई मात्र सञ्चालन गर्न दिनको लागि नियमन सुरु भएको हो । दर्ता भए–नभएको सजिलै छुटयाउनको लागि नगरपालिकाले दर्ता भएका ई–रिक्सालाई पहेलो रगंको हाफ ज्याकेट समेत वितरण गरेको छ ।
नियमनलाई उदघाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खाँ ले तीनपांग्रे सवारीसाधन ब्यवस्थापन अभियानमा जोडिन ई–रिक्सा चालकलाई आग्रह गर्नु भएको छ । उहाले ई–रिक्सा चालकको सिद्धार्थनगरको सुन्दरीकरणमा महत्वपुर्ण भुमिका भएकोले नगरमा व्यवस्थित पार्किङ गरी ट्राफिक व्यवस्थापन गर्न आग्रह गर्नु भएको छ । उहाले ई–रिक्सा चालकलाई जनताको सेवक बनेर काम गर्न सुझाव दिदै नगरको सुन्दरीकरण र भाडादरमा एकरुपता गर्ने उदेश्यका साथ ई–रिक्साको नियमन सुरु गरिएको बताउनु भएको छ ।
यस्तै गरी नगर उपप्रमुख उमा अधिकारीले नगरपालिकाले तोकेको मापदण्ड पुरा गरेर मात्र आफ्ना ई–रिक्सा चलाउन सम्बन्धित सवारीधनीहरुलाई आग्रह गर्नु भएको छ । उहाले नगरपालिकाले निशुल्क रुपमा बितरण गरेको ज्याकेट अनिवार्य रुपमा लगाएर ई–रिक्सा चलाउन अनुरोध गर्दै ई–रिक्सा चालकलाई कुनै पनि समस्या परे नगरमा आफनो समस्याहरु राख्न सकिने बताउनु भएको छ । उहाले नगरपालिका सबै नागरिकको भएको बताउदै नगरलाई राम्रो बनाउने जिम्मेवारी पनि सबैको भएको बताउनु भयो ।
यस्तै गरी सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बुधबारदेखि सुरु भएको नियमन एक हप्तासम्म गरिने र त्यसपछि अटेर गर्नेलाई कारवाही प्रक्रियामा अगाडी बढाइने समेत बताउनु भएको छ ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले अटो, टेम्पो तथा ई–रिक्सासँग सम्बन्धित मापदण्ड पूर्ण रुपमा कार्यान्यनमा लगिने भएकाले मापदण्ड पूरा गरेर मात्र तीनपांग्रे सवारीसाधन चलाउन आग्रह गर्नु भएको छ । उहाले नगरपालिकामा दर्ता हुनका लागि सम्बन्धित व्यवसायीसँग ब्लू–बुक, सवारीचालक अनुमतिपत्र र बीमालाई अनिवार्य गरिएको छ ।
सम्पूर्ण सरोकारवालाहरुको सर्वपक्षीय छलफलबाट बिनादर्ता र अव्यवस्थित रुपमा भैरहवा क्षेत्रमा सञ्चालन हुँदै आएका अटो, टेम्पो तथा ई–रिक्सालाई व्यवस्थित गर्न नगरपालिकाले मापदण्ड तयार पारेको थियो । उक्त मापदण्ड अनुसार सिद्धार्थनगरमा बढीमा ५ सय अटो तथा ई–रिक्सा सञ्चालन गर्न पाउने व्यवस्था छ ।
त्यसको लागि नगरपालिकाले पटकपटक सूचना प्रकाशित गरी ४ सय ७३ वटा ई–रिक्सा दर्ता गराएको छ ।
सिद्धार्थनगर नगरपालिकामा गैरनेपाली नागरिक र बिनादर्ताका अटो, टेम्पो तथा ई–रिक्सा सञ्चालनमा भने प्रतिबन्ध लगाइएको छ । मापदण्डअनुसार मुख्य सडकबाहेक किनाराका सर्भिस लेन र नगरका भित्री सडकमा सञ्चालन गर्नुपर्ने, रुट इजाजत लिनुपर्ने, यात्रु संग निर्धारित भाडा मात्र लिनुपर्ने, तोकिएको स्थलमा मात्र पार्किङ गरिनुपर्ने, नगरपालिकामा दर्ता भएको संकेत सवारीसाधनको अग्रभागमा राख्नुपर्ने लगायतका मापदण्ड छन ।
प्रकाशित मिति: २०२४-१२-१५ , समय : १३:१०:०४ , ३ दिन अगाडि