रुपन्देही खबर , ९५ पटक हेरिएको
भैरहवा, मंसिर ३०
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को आयोजनामा दोस्रो वडा कप क्रिकेट प्रतियोगिता–२०८१ सुरु भएको छ । सिनपा वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीको अध्यक्षता तथा नगरप्रमुख इश्तियाक अहमद खाँ को प्रमुख आतिथ्यतामा दोस्रो वडा कप क्रिकेट प्रतियोगिता–२०८१ सुरु भएको हो ।
खेलको उद्घाटन गर्दै नगरप्रमुख खाँ ले सिद्धार्थनगर भैरहवा क्रिकेटको उर्वरभूमि रहेको बताउनु भएको छ । उहाले ठूलो प्रतियोगितामा खेल्ने खेलाडीहरु वडाबाट नै निस्किने हुँदा यसलाइ सदुपयोग गर्दै अगाडीको खेलहरुमा भाग लिन आग्रह गर्नु भएको छ ।
यस्तै गरी सिनपा वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले पूर्वाधार निर्माण मात्र विकास नभएको बताउँदै खेलकुदको समेत विकास गरी वडालाइ अगाडी बढाउन वडा कपको आयोजना गरिएको बताउनु भएको छ । उहाले प्रतियोगितामा विजयी टीमलाइ कर सहित रु २५ हजार र दोस्रो हुने टीमले रु १५ हजार नगद प्राप्त गर्ने बताउनु भएको छ ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, पूर्वअध्यक्ष महेन्द्र कुमार श्रेष्ठ लगायतले भैरहवामा क्रिकेटको भविष्य उज्जवल भएको बताउँदै यसमा निरन्तरता दिन आग्रह गर्नु भएको छ । क्रिकेटको विकासमा निजी क्षेत्र र सरकारको सहकार्य महत्वपूर्ण रहेको वक्ताहरुको जोड थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य बसन्त भट्टराईले गर्नु भएको थियो ।
शनिबार गोनिहया रेडक्रस खेलमैदानमा उद्घाटन खेलमा गोलिगढ ‘बी’ टोली विजयी भएको छ । गोलिगढले गोनहियालाई ४ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको गोनहिया टोल सुधार समितिले निर्धारित १० ओभरमा ३ विकेटक्को क्षतिमा १०१ रन बनाएको थियो । उसका लागि त्रिभुवनले ४४ रन र राहुल गुरुङले अविजित २० रन बनाएका थिए । बलिङतर्फ गोलिगढका सिद्धान्त क्षेत्रीले २ तथा विजय सहानीले १ विकेट लिए ।
१०२ रनको विजयी लक्ष्यसहित मैदान आएको गोलिगढले ९ औं ओभरमै ६ विकेट गुमाउदै जीत हासिल गरेको थियो । उसका लागि सुनिल कोइरीले ३२ रन, सिद्धान्त क्षेत्री अविजित २१ रन र आरिफ खानले १६ रन प्रहार गरे । बलिङमा गोनहियाका करण कहारले ह्याट्रीकसहित ५ विकेट लिए पनि खराब फिल्डिङको कारण गोनहिया पराजित हुन पुग्यो । प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहेको छ ।
प्रकाशित मिति: २०२४-१२-१५ , समय : ०९:३४:०९ , ३ दिन अगाडि