रुपन्देही खबर , १६९ पटक हेरिएको
भैरहवा, मंसिर २६
रुपन्देहीको भैरहवामा जारी नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा निःशुल्क माटो परीक्षण सुरु भएको छ । कृषिप्रधान मुलुक भएर पनि किसानले सहजै आफ्नो उब्जाउ भूमिको माटो परीक्षण गर्न नपाएको अवस्थामा महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले निःशुल्क माटो परीक्षणको व्यवस्था गरेको हो । नेपालगञ्जका प्राविधिकहरुको सहयोगमा माटोको निःशुल्क परीक्षण सुरु गरिएको आयोजकले जनाएको छ ।
पछिल्लो समय कृषकहरुले गरिरहेको अन्नबाली र तरकारी खेतीबाट उत्पादनमा आइरहेको ह्रासलाई मध्यनजर गरी माटो परीक्षण सुरु गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताउनु भएको छ । ‘माटोको अवस्था पत्ता लगाउन र के–कस्तो खेती गर्न उपयुक्त हुन्छ भन्ने पत्ता लगाउन माटो परीक्षण गर्ने व्यवस्था गरेको उहाले बताउनु भएको छ । उहाले किसानलाई उत्पादन बढाउन र मुनाफा कमाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।
जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश व्यक्ति कृषिमा निर्भर छन् । तर, नजिक माटो परीक्षणको व्यवस्था नहुँदा चाहेर पनि परीक्षण गर्न सकेका छैनन् । महोत्सवमा गरिएको निःशुल्क माटो परीक्षणमा प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटास परीक्षण गरिने छ । प्रयोगशालामा गएर आफैले माटो परीक्षण गराउन खर्चिलो र झण्झटिलो हुने भएका कारण महोत्सवमै सेवा दिनका लागि माटोको निःशुल्क परीक्षण शिविर आयोजना गरिएको कृषि व्यवस्थापन संयोजक समेत रहनु भएको संघको सदस्य यमकला न्यौपानेले बताउनु भएको छ ।
‘जथाभावी रासायनिक मलको प्रयोगले माटोमा अम्लियपना बढी भइरहेको छ, उत्पादन र उत्पादकत्व घटदै गइरहेको उहाले बताउनु भएको छ । उहाले परीक्षणले माटोको अवस्थामा सुधार ल्याउन सहयोग गर्ने र अर्कातर्फ किसानलाई माटो सुहाउँदो व्यवसायिक खेतीतर्फ आकर्षित गराउन पनि सहयोग पुग्ने बताउनु भएको छ ।
पछिल्लो वर्षहरुमा कृषि क्षेत्रमा रासायनिक मलको प्रयोग बढ्दो छ । यसले माटोको उर्वराशक्तिमा ह्रास गरिरहेको छ । तर, धेरै किसानलाई यसबारे जानकारी छैन । यसबारे जानकारी गराउने र कस्तो माटोमा कुन खेती गर्दा उब्जनी बढी हुन्छ भन्ने जानकारी दिने उद्देश्यले महोत्सवमा निःशुल्क माटो परीक्षण सुरु गरिएको आयोजकको भनाइ छ ।
‘रुपन्देहीको ग्रामीण क्षेत्रमा राम्रो उब्जनी हुन्छ तर निरन्तरको रासायनिक मलको प्रयोगले किसानहरुले चाहेजति मुनाफा कमाउन सकिरहेको अवस्था छैन’, संघका अध्यक्ष श्रेष्ठले भन्नु भयो , ‘यसैले महोत्सवस्थलमा हामीले माटो परीक्षण शिविर सञ्चालन गरेका हौं । यसले किसानले कस्तो माटोमा कुन किसिमको खेती गर्दा उब्जनी बढी हुन्छ भन्नेबारे जानकारी पाउनुहुनेछ । यसले उब्जनी वृद्धिमा सहयोग पुग्ने छ ।’
उहाले सबै किसानको पहुँच प्रयोगशालासम्म नपुग्ने र नजिक प्रयोगशाला समेत नभएकाले धेरैले आफ्नो जमिनको माटो परीक्षण गर्न नपाएको बताउनु भएको छ । ‘उद्योग–व्यवसाय र पर्यटनसँगै कृषि हाम्रो समृद्धिको आधार हो । ठूलो हिस्सा नेपालीहरु कृषि खेतीमा लाग्नुभएको छ’, उहाले भन्नु भयो । ‘महोत्सवले कृषिको व्यवसायीकरण र आधुनिकीकरणलाई पनि जोड दिएको छ । यसका लागि माटोको उर्वराशक्ति राम्रो हुनु अत्यन्तै आवश्यक छ । यसैले माटो परीक्षण गरेर किसानलाई आफ्नो उब्जाउ भूमिको यथार्थ जानकारी गराउने कोसिस गरेका छौं ।’
आयोजकले महोत्सवमा कृषि प्याभेलियन निर्माण गरेका छन् । उक्त प्याभेलियनमा माटो परीक्षण भइरहेको छ । कृषि व्यवसाय गर्न चाहनेले कस्तो माटोमा कुन खेती गर्दा उब्जनी र मुनाफा हुन्छ भन्नेबारे जानकारी पाउनेछन् । मंगलबारदेखि सुरु निःशुल्क माटो परीक्षण २७ गतेसम्म गरी तीन दिन चल्नेछ । ‘महोत्सवमा नेपालगञ्जका प्राविधिकहरुको सहयोगमा माटोको निःशुल्क परीक्षण भइरहेको छ, यहाँ जुनसुकै किसानले आएर आफ्नो खेतबारीको माटो परीक्षण गर्न सक्नुहुनेछ’, संघकी सदस्य एवं कृषि व्यवस्थापन समिति संयोजक न्यौपानेले बताउनु भएको छ ।
भैरहवा तथा यस आसपास रहेका तिलोत्तमा, धकधई, मर्चवार, अमवा, लुम्बिनी, गैडहवा, कंचन, सिद्धार्थनगर लगायतका कृषकलाई लक्षित गरी मेलामै माटोको निःशुल्क परीक्षण गरिएको हो । ‘माटोको परीक्षणपछि प्राविधिकहरुले कुन मौसममा कुन खेती गर्दा उपयुक्त हुन्छ, कसरी लाभ उठाउन सकिन्छ भनेर समेत सिकाइरहेका छन्’, न्यौपानेले भनिन्, ‘यससँगै माटोमा अम्लियपन वा अन्य जिवाणु देखिए रोकथामको उपाय समेत सिकाइने छ ।’
महोत्सवमा माटो परीक्षणका लागि आएका किसान कृष्ण प्रसाद बस्याल र कुलप्रसाद भण्डारीले सहकारी र कृषि समूहमार्फत् धेरै किसानको माटो परीक्षणका लागि लिएर आएको बताए । उनीहरुले वर्षौसम्म माटोको परीक्षण गर्न नपाइएको जनाउँदै भैरहवामा महोत्सव आयोजकले किसानका लागि अवसर सिर्जना गरेको जनाएको भएको छ । आयोजकले धेरै भन्दा धेरै किसानलाई लाभ लिन आग्रह गरेको छ ।
माटो प्राविधिक तिलक बहादुर केसीले माटोको उत्पादन क्षमता, कुन खेती र तरकारी बाली लगाउँदा उत्पादन बढी हुन्छ भन्ने कुराहरु जाँच गरेपछि किसानलाई जानकारी दिने बताउनु भएको छ । ‘माटोको प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटास परीक्षण गरिने उहाले जानकारी दिनु भएको छ । उहाले यसले माटोको अवस्था पत्ता लगाउन मद्दत गर्ने र यसपछि किसानलाई त्यहीअनुसार सुझाव दिने बताउनु भएको छ । महोत्सवमा माटो परीक्षण गराउन गाउँगाउँबाट किसान आएका छन् ।
प्रकाशित मिति: २०२४-१२-११ , समय : १६:३६:४१ , २ महिना अगाडि