सुनवल नगरपालिकामा लैङ्गिक बहस कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ७२  पटक हेरिएको

सुनवल ,मंसिर २५

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सुनवल नगरपालिकाले ईलाका प्रहरी कार्यालय सुनवलको साझेदारीमा सुनवल नगरपालिकाको सभाहलमा लैङ्गिक बहस कार्यक्रम सम्पन्न गरेको छ ।

नगर प्रमुख विमला अर्यालको अध्यक्षता एवम प्रतिनिधि सभा सदस्य तथा पुर्ब कानुन मन्त्री ध्रुब बहादुर प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानले हिंसा मानव अधिकार विरुद्ध नै भएको बताउदै एक अर्काको मानव अधिकार हनन हुनु नै लैङ्गिक हिंसा भएको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले लैङ्गिक विभेद नभएमा नेपालमा लैङ्गिक हिंसाको अन्त हुने उहाको भनाई छ ।

नगर प्रमुख विमला अर्यालले लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना आवश्यक रहेको बताउदै नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानका क्रममा मात्रै नभई वर्ष भरि नै सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको र गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले लैङ्गिक हिंसाका पिडितहरु अ़झै पनि खुलेर बाहिर आउन नसकेको बताउदै उजुरी गरेमा दोषी लाई कारबाही हुने र पिडितले न्याय पाउने कुरामा विश्वस्त रहन सबैमा अनुरोध गर्नुभएको छ ।

सो अवसरमा लैङ्गिक हिंसा, यसको कारण र असर, कानुनी व्यवस्थाका विषयमा मानव अधिकार कर्मी ईन्दिरा अर्यालले सहजीकरण गर्दै आजभोलि हिंसा पिडित पुरुष र अन्यको संख्यामा वृद्धि भएपनि समाजमा महिला बढि हिंसामा पर्ने गरेको बताउदै महिलाहरु स्वयम् न्यायका लागि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । लैङ्गिक हिंसा अन्त्यमा लागि सबै एकजुट हुनुपर्ने बताउदै महिलालाई सशक्त बनाउन सम्बन्धीत सरोकारवालाहरुले आआफ्नो क्षेत्रबाट काम गर्नुपर्ने जिकिर गर्नुभयो।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रिय सदस्य भविश्वर तिवारी आजाद, सुनवल गाविसाका पुर्व अध्यक्ष थान प्रसाद गैरे, मनसोभा पाण्डे, विभिन्न राजनैतिक दलका जनप्रतिनिधि, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयाल र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन महिला तथा बालबालिका विकास शाखा प्रमुख केशरी गैरेले गर्नुभएको थियो ।

 

प्रकाशित मिति: २०२४-१२-१० , समय : २३:४७:५९ , १ हप्ता अगाडि