रुपन्देही खबर , १०३ पटक हेरिएको
भैरहवा, मंसिर २२
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवामा आयोजना गरेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा निःशुल्क मेहन्दी तालिम सुरु भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले धार्मिक र साँस्कृतिक महत्व बोकेको मेहन्दी जो कोहीले लगाउन नसक्ने भएकाले मेहन्दी लगाउन सिके महिलाहरूलाई स्वरोजगार हुन सहज हुने बताउनु भएको छ ।
त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य तथा महोत्सवको महिला उद्यमी तथा हस्तकला समिति संयोजक पल्लवी न्यौपानेले मेहन्दी तालिम निकै महंगो हुने भएकाले सिद्धार्थ उद्योग वाणिज्य संघले विगतका वर्षहरुदेखि नै यस्ता तालिमहरुलाई निःशुल्क रुपमा सञ्चालन गर्दै आएको बताउनु भएको छ । उहाले यस्ता तालिमले महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन सहयोग पुग्ने बताउनु भएको छ । उहाले ‘महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर तथा व्यवसायिक एवं स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताउदै यो अवसरको सदुपयोग गर्न आग्रह गर्नु भएको छ ।
संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । १० दिन सम्म सञ्चालन हुने तालिममा ६५ जना प्रशिक्षार्थीहरू सहभागी छन् । आयोजकका अनुसार तालिमको अन्तिम दिन प्रशिक्षार्थीहरुबीच प्रतिष्पर्धा गराई प्रथम, द्वितीय र तृतीय हुनेलाई नगदसहित पुरस्कृत गरिनेछ । मंसिर २० गतेदेखि सुरु भएको महोत्सव पुस १ गतेसम्म सञ्चालन हुनेछ ।
करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको लुम्बिनी राष्ट्रिय महोत्सवको २ लाख दर्शकले अवलोकन गर्ने संघका सचिव तथा प्रचार प्रसार समिति संयोजक मंगल भण्डारीले बताउनु भएको छ ।
महोत्सवको संरक्षक सिद्धार्थनगर नगरपालिकाको कार्यालय, सह–आयोजक नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश, प्रवद्र्धक पर्यटन विकास परिषद्, बुटवल, मुख्य प्रायोजक रुद्राक्ष मार्ट, भैरहवा र सह–प्रायोजक रिया रक्षा फूड प्रोडक्टस, भैरहवा रहेका छन् । त्यस्तै टिकट प्रायोजक ग्लोबल आईएमई बैंक लि., आधिकारिक बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. र आधिकारिक इन्स्योेरेन्स नेको इन्स्योरेन्स रहेका छन् ।
प्रकाशित मिति: २०२४-१२-०७ , समय : १०:१२:२९ , ३ हप्ता अगाडि