सिद्धार्थनगरमा मनाइयो राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका दिवस

नगरभित्रका एक सय जना स्वास्थ्य स्वयमसेबिकालाई झोला,छाता र पानीको बोतलसहित सम्मान

उर्मिला यादव यात्री , २२८  पटक हेरिएको

भैरहवा, मंसिर २०

बिबिध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको भुमिका, स्वस्थ्य समाज निमार्णमा सहभागिता भन्ने मुल नाराका साथ सिद्धार्थनगर नगरपालिकाले आज भैरहवामा २१ औं राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका दिवस मनाएको छ ।


महिला स्वास्थ्य स्वयमसेबिका नगर संयोजक तथा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीको अध्यक्षता तथा नगरप्रमुख इश्तियाक अहमद खांनको प्रमुख आतिथ्यतामा २१ औं राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख खांनले सिद्धार्थनगर नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरु नगरको गहना भएको बताउनु भएको छ । उहाले स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाउदै आएकोले उनीहरुको सम्मान गर्नुपर्ने बताउनु भएको छ । नगर प्रमुख खांनले स्वास्थ्य स्वयंसेविकाहरु नगरपालिका भित्र खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान, परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार लगायतका क्षेत्रमा काम गर्दै आएको बताउनु भएको छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै महिला स्वास्थ्य स्वयमसेबिका नगर संयोजक तथा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले स्वास्थ्य स्वयमसेबिकाको मेहनत र अथक प्रयासले नै सिद्धार्थनगर नगरपालिका स्वास्थ्य क्षेत्रमा फडको मारेको बताउनु भएको छ । उहाले नगरमा कार्यरत स्वास्थ्य स्वयमसेबिकाहरुलाई स्वास्थ्य क्षेत्रमा अझै जिम्मेवार हुन आग्रह गर्नु भएको छ । उहाले नगरपालिका र स्वास्थ्य स्वयमसेबिका बिच सहकार्य भए मात्र स्वास्थ्य क्षेत्रमा अझ थप सुधार ल्याउन सकिने बताउनु भयो ।
उहाले स्वास्थ्य स्वयमसेबिकाहरुलाई आगामी आर्थिक बर्षमा सम्मान गर्ने जस्ता कार्यक्रमहरु ल्याउने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले अझै पनि स्वास्थ्य केन्द्रमा केही कमी कमजोरी रहेकोले त्यसलाई सुधार गर्दै लैजान आग्रह समेत गर्नु भएको छ।

यस्तै गरी कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले स्वास्थ्य स्वयमसेबिकाहरु समुदायमा मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन स्वास्थ्य, परिवार योजना आदि विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह गर्दै आएको बताउनु भएको छ । उहाले स्वयमसेबिकाहरुले स्वास्थ्य आमा समूहमा छलफल मार्फत जनस्वास्थ्यसम्बन्धी सूचना तथा सेवाहरुको पहुँचमा वृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन महत्वपुर्ण भुमिका निवार्ह गर्दै आएका बताउनु भएको छ ।

सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रममा स्वास्थ्य स्वयमसेबिकाहरु चित्रलेखा थापा, लक्ष्मी पाण्डे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत गीता देवी न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका भित्रका १ सय जना स्वास्थ्य स्वयम सेबिकाहरुलाई झोला, छाता, पानीको बोतल लगायत प्रदान गरी सम्मान गरिएको थियो ।


कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष उज्वल पोख्रेल, सिनपा २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तव , वडा नम्बर ६ का वडाध्यक्ष बिरेन्द्र नाथ श्रीवास्तव, सिनपा वडा नम्बर ७ का वडाध्यक्ष दामोदर शर्मा घिमिरे , जनस्वास्थ्य निरीक्षक बिजय नाथ चौधरी, प्रशासन शाखा प्रमुख देव ज्ञवाली, सिद्धार्थनगरका उपसचिव चेतनशील लम्साल, स्वास्थ्य कार्यालयका केदार नाथ शाह लगायत स्वास्थ्य स्वयम सेबिका ,कर्मचारी, कार्यपालिका सदस्य लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-१२-०५ , समय : २१:४०:२६ , ३ हप्ता अगाडि