रुपन्देही खबर , १६१ पटक हेरिएको
भैरहवा, मंसिर १५
रुपन्देहीको भैरहवामा आयोजनाको संघारमा रहेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा ‘भैरहवा डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’ प्रतियोगिता हुने भएको छ । यही मंसिर २० देखि पुस १ सम्म भैरहवाको अञ्चलपुरमा आयोजना हुन लागेको महोत्सवका आकर्षणमध्ये यी दुई आइडल पनि रहेको मेला आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले जनाएको छ ।
महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक दीपेन्द्र प्रधानले विगतका सिजनमा जस्तै यसपटकको आइडलले दर्शक र स्रोतको मन जित्ने विश्वास ब्यक्त गर्नु भएको छ । । ‘धेरै प्रतिभाहरु अझै हाम्रै छेउछाउ छन तर उनीहरुले प्लेटफर्म नपाउँदा ओझेलमा छन’, प्रधानले भन्नु भयो , ‘यसरी लुकेर रहेका भोलिका प्रतिभावान कलाकार हामीले बाहिर ल्याउन खोजेका छौं । पक्कै पनि यसले नेपाली नृत्य र संगीतको दुनियामा नयाँ आयाम थप्ने छ ।
सिद्धार्थ उद्योग बाणिज्य संघले भैरहवा डान्स आइडलको अडिसन राउण्ड समेत गरिसकेको छ । जसमा २० जना प्रतियोगी चुनिएका छन । यता भ्वाइस अफ भैरहवामा १० जना चुनिएका छन । ‘हामीले महोत्सव लगाउन सुरु गरेको दुईदशक भएको छ । यो लामो इतिहासदेखि नै सिद्धार्थ उद्योग वाणिज्य संघले महोत्सव मार्फत कलाकार उत्पादनमा जोड दिँदै आएको प्रधानले बताउनु भयो ।
महोत्सवमा स्थानीय कलाकारलाई बोलाएर नृत्य प्रस्तुत हुँदै आए पनि भैरहवा डान्स आइडल भने पहिलो टक गर्न लागिएको हो । ‘सिजन–१ सुरु भएकोले ‘आउँने महोत्सवमा यसलाई निरन्तरता दिने बताउनु भयो । भ्वाइस अफ भैरहवा भने पाँचौ सिजनमा पुगेको छ । शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा भएको अडिसनमा रुपन्देही जिल्लाका विभिन्न स्थानका प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।
महोत्सवका साँस्कृतिक संयोजक प्रधानले पछिल्लो समय बालबालिकामा कला र संगीतप्रतिको रुचिलाई मध्यनजर गर्दै यस पटक डान्स आइडलको सुरुवात गरिएको जनाउँदै भ्वाइस अफ भैरहवालाई पनि निरन्तरता दिइएको बताउनु भएको छ । प्रधानले देशभरी छरिएर बसेका कलाहरुलाई एकीकृत गर्नका लागि यस पटक नयाँ खालको कार्यक्रम गर्न लागिपरेको बताउनु भयो ।
डान्स आइडलका निर्णायक सुभम शुक्लाले प्रतियोगीहरुलाई नृत्यमा स्टेज कभर, एक्सप्रेसन हाउभाउ, कोर्डियोग्राफीका आधारमा चुनिएको बताउनु भएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक एवं सिद्धार्थ उद्योग वाणिव्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विगतका वर्षहरुमा संघकै आयोजनामा भएका भ्वाइस अफ भैरहवामार्फत नै भूपेन्द्र थापा मगर लगायतले यस क्षेत्रलाई राष्ट्रियस्तरमा चिनाउन भूमिका निर्वाह गर्दै आएको बताउनु भयो ।
श्रेष्ठले आर्थिक चलायमानसँगै कला र सँस्कृतिको प्रर्वद्धन गर्नका लागि यस्ता खालका कार्यक्रमलाई प्रोत्साहन गरिएको बताउनु भएको छ । उहाले हरेक व्यक्तिको योग्यता र क्षमतालाई संघले सम्मान गर्ने जनाउँदै युवा पुस्ताका लागि दुवै आइडल उपयोगी, सिकाई तथा आकर्षक बन्ने विश्वास व्यक्त गर्नु भएको छ ।
भ्वाइस अफ भैरहवामा कुल ३० जना प्रतियोगी सहभागी भएकोमा १० जना महोत्सवमा हुने स्टेज प्रस्तुतीका लागि चुनिएका छन । भ्वाइस अफ भैरहवाका निर्णायक राजा शाहीले प्रतियोगितामा सहभागीहरुको दर्शकहरुलाई आकर्षण गर्न सक्ने क्षमता, सुर, टाइमिङलाई मध्यनजर गर्दै निर्णय गरिने जानकारी दिनु भएको छ ।
डान्स आइडल अडिसन राउण्डमा सहभागी २५ जनामध्ये २० जना चुनिएका छन । भैरहवा डान्स आइडलमा निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ भने भ्वाइस अफ भैरहवाको विजेता दर्शकहरुको रोजाइको आधारमा हुनेछ । महोत्सवमा उक्त प्रतियोगिहरुले रचनात्मक प्रस्तुती देखाउनेछन । भैरहवा डान्स आइडल सिजन–१ र भ्वाइस अफ भैरहवामा सिजन–५ मा प्रथम हुनेले २५ हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन ।
प्रकाशित मिति: २०२४-११-३० , समय : २१:४०:१० , ४ हप्ता अगाडि