उत्पादनमा शतप्रतिशत बृद्धि गर्ने रत्नम अर्गानिक मल बजारमा 

उर्मिला यादव यात्री , ७९  पटक हेरिएको

भैरहवा, मंसिर १३

खेतीको सिजनमा हुदै आएको मलको अभावलाई मध्यनजर गर्दै ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि. रोहिणी ४ रुपन्देहीले रत्नम दानेदार अर्गानिक मल बजारमा ल्याएको छ । आज भैरहवामा पत्रकार सम्मेलन गर्दै भैरहवाका व्यवसायी सिद्धार्थ अग्रवाल र पुनम अग्रवालले रोहिणी गाउँपालिका वडा नम्बर ४ कोटहवामा ५ विघा क्षेत्रफलमा ३० करोड रुपैयाँ लगानी गरी ‘रत्नम अर्गानिक दानेदार मल’ बजारमा ल्याएको जानकारी दिनु भएको छ ।

एक वर्ष अघि उत्पादन थालेको उक्त उद्योगले आफ्नो उत्पादित मल उद्योग परिसर, आसपासका पालिकाहरु र सयौं स्थानीय कृषकको खेतमा गरिएको परीक्षण सफल भएपछि उक्त मल बजारमा ल्याएको ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिका अध्यक्ष सिद्धार्थ अग्रवालले बताउनु भएको छ ।
उहाले यस मलले माटोको उर्वराशक्ति बढाउनु मात्र नभइ उत्पादनमा बृद्धि हुने समेत जोड दिनु भएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा सूचिकृत यो मल आलु, गहु, धान, तोरी, उखु, मकै, कोदो, सोयाबिन, जौं, दलहन बाली, तिलहन बाली, तरकारीहरु, चिया बगान, प्याज, लसुन, फुल, फलदार रुख लगायतमा प्रयोग गरी उत्पादन गरिरहेको संचालक अग्रवालले बताउनु भयो ।

आर्थिक मन्दी लगायतका विविध कारणले विभिन्न उद्योगहरु धमाधम बन्द भैरहेको हालको अवस्थामा ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि.ले लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका किसानलाई लक्षित गरि दैनिक १ सय मेट्रिक भन्दा धेरै परिमाणमा अर्गानिक मलको उत्पादन गर्दै आएको छ । उद्योगको क्षमता दैनिक २ सय मेट्रिक टन छ । ‘हाम्रो दैनिक क्षमता २ सय मेट्रिक टन हो, तर नयाँ उद्योग भएकाले विस्तारै बजार विस्तार हुँदै गएकोले उत्पादन पनि बढाउँदै लगेका छौं’, उद्योगका अध्यक्ष अग्रवालले भन्नु भयो ।

आमकिसानले मलको गुणस्तर र यसको फाइदाबारे बुझे मात्र उद्योग पूर्णक्षमतामा संचालन गर्न सकिने बताउदै अग्रवालले अहिले एक सय बढी स्थानमा डिपो खोलेर मल विक्रीबितरण गरिरहेको बताउनु भयो।

उद्योगका प्रबन्ध निर्देशक पुनम अग्रवालले रत्नम दानेदार अर्गानिक मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार ल्याइ उत्पादन क्षमतामा समेत बृद्धि गर्न मदत गर्ने दाबी गर्नु भएको छ । उत्पादित मल ५ किलो, २५ किलो र ५० किलो तौल प्याकेजिङमा उपलब्ध रहेको अग्रवालले बताउनु भयो ।नेपालमा बर्षाैदेखि अन्नवाली तथा बोटबिरुवामा रासायनिक मल र बिषादी पदार्थको प्रयोग हुदै आएकोले यसको अत्यधिक र असन्तुलन मात्रामा भएको प्रयोगले माटोलाई अझै रासायनिक बनाउने र जमिन मुनीको पानीलाई बिषालु बनाउने भएकोले र रासायनिक मलको प्रयोगबाट उत्पादित खाद्यान्नले मानव स्वास्थ्यमा पार्ने असरलाई मध्यनजर गर्दै ठूलो परिमाणमा अर्गानिक मलको व्यवसायिक उत्पादन थालिएको उहाले बताउनु भएको छ ।

उक्त मलमा नाइट्रोजन, फस्फोरस, पोटासियम, क्याल्सियम, सल्फर, म्याग्नेसियम, फलाम, कार्बनिक पदार्थ, नमी र कार्बन नाइट्रोजनको मिश्रण रहेकोले रासायनिक मलको तुलनामा रत्नम अर्गानिक मलको मूल्य धेरै सस्तो र गुणस्तरीय रहेको प्रबन्ध निर्देशक अग्रवालले बताउनु भएको छ । उहाले रासायनिक मललाई बिस्तारै बिस्थापित गर्दै जाने लक्ष्यका साथ ‘रत्नम अर्गानिक मल बजारमा ल्याएको बताउदै पछिल्लो समय स्थानीय किसान र सीमावर्ती भारतीय किसानबाट समेत ठूलो माग आउन थालेको उहाले बताउनु भयो ।

उहाका अनुसार ५० किलो रासायनिक डीएपी मलको मूल्य करिब २ हजार ४ सय रुपैयाँ पर्ने गरेकोमा रत्नम अर्गानिक मलको मूल्य १ हजार ५ सय रुपैयाँ मात्र छ । सस्तो, स्वस्थ जीवनका लागि र गुणस्तरीय रत्नम अर्गानिक मल प्रयोगका लागि सबैमा अनुरोध गर्दै अग्रवालले कम्तिमा दुई खेतीबालीमा प्रयोग गरेपछि यसमा सुखद् परिणाम आउँने बिश्वास दिलाउदै स्वेदशी मल प्रयोग गर्न आग्रह समेत गर्नु भएको छ । उद्योगमा ४० जनाले रोजगारी पाएका छन ।

प्रकाशित मिति: २०२४-११-२८ , समय : १९:५२:३२ , ३ घन्टा अगाडि