रुपन्देही खबर , ५४ पटक हेरिएको
भैरहवा, मंसिर ११
“हामी सबैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यको लागी एक्यवद्धता” भन्ने मुल नाराका रुपन्देहीको भैरहवामा पनि ३३ औ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा सोमबार सिद्धार्थनगर नगरपालिकामा प्रभात फेरी गरिएको छ । देवकोटा चोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रम सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा बिबिध कार्यक्रम गरी मनाइएको छ ।
सिद्धार्थनगर नगरपालिकाका नगर उपप्रमुख उमा अधिकारीको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खां को प्रमुख आतिथ्यतामा ३३ औ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको हो । अभियानको उदघाटन गर्दै प्रमुख अतिथी खां ले महिला र पुरुषमा कामको समान बाडफाड नहुदा सम्म समाजमा महिला हिंसा अन्त्य नहुने बताउनु भएको छ । उहाले महिला हिंसा नेपालमा मात्र नभएर विश्वमा नै डर लाग्दो स्थिती रहेको र सिद्धार्थनगर नगरपालिका भारतको सिमानासंग जोडिएकोले मानव बेचबिखनको समस्या पनि उत्तिकै रहेको बताउनु भएको छ । समाजमा लैगिंक हिंसा उन्मुलन गर्न महिला र पुरुषलाई समान दृष्टिले हेर्नु पर्ने नगरप्रमुख खां को भनाई छ । उहाले कानून कार्यान्वयनको पाटो अझ बलियो हुनु पर्नेमा जोड दिनु भएको छ । छ ।
यस्तै गरी सिद्धार्थनगर नगरपालिकाका नगर उपप्रमुख उमा अधिकारीले लैगिंकताको आधारमा महिला, पुरुष र तेस्रो लिंगी महिलाहरु कसैलाई पनि विभेद र हिंसा नहोस भन्ने यस कार्यक्रमको उद्देश्य रहेको बताउन भएको छ । उहाले डब्लु एच ओ को तथ्यांक हेर्ने हो भने महिलाहरु नै बढी पिडित भएको पाइएको बताउनु भएको छ । नेपालमा मात्र होइन बिश्वमा नै हरेक ३ जना महिला मध्ये १ जना महिलालाई यौनिक तथा लैङ्गिक हिंसा हुने गरेको पाइएको छ । तसर्थ पनि महिला हिंसा बिरुद्ध हामी सबैले आवाज उठाउन जरुरी रहेको उल्लेख गर्नु भयो । उहाले प्रतिवद्धता व्यानरमा सम्पूर्णलाई हस्ताक्षर गर्न आग्रह गर्दे म हिंसा गर्दिन । म हिंसा सहदिन र म हिंसा देखेमा प्रतिकार गर्छु भन्ने नारालाई व्यवहारमा लागु गर्न समेत आग्रह गर्नु भएको छ । उहाले यहि मंसिर २० गते बाट भैरहवामा हुने नौं लुम्बिनी पर्यटन महोत्सवमा लैङ्गिक हिंसा बिरुद्धको अवसरमा सडक नाटक नगरकै आयोजनामा हुने जानकारी समेत दिनु भएको छ ।
कार्यक्रममा सबै किसिमका लैगिंक हिंसा रोक्न प्रतिवद्धता व्यानरमा हस्ताक्षर समेत भएको थियो । सो कार्यक्रम १६ दिन सम्म नै बिद्यालय तथा समुदायस्तरमा सचेतनामुलक कार्यक्रम गरी मनाइनेछ भने १६ दिने अभियानको अन्त्यमा अभिमुखिकरण कार्यक्रमको समेत आयोजना गर्ने नगरपालिकाले जनाएको छ । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत चेतनशिल लम्सालको स्वागत मन्तब्य रहेको कार्यक्रममा सिनपा वडा नम्बर ६ का वडाध्यक्ष बिरेन्द्र श्रीवास्तव, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अमृता के.सी लगायतले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको बारेमा आ आफनो भनाइ राख्नु भएको थियो भने कार्यक्रम संचालन सिद्धार्थनगर नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कौशल्या चौधरीले गर्नु भएको थियो ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा जिल्ला स्तरिय लैङ्गिक हिंसा नियन्त्रण संजाल समिति र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वय तथा सहकार्यमा सुरु भएको हो । कार्यक्रममा सु अवसरग्राम नेपाल, माईती नेपाल, आशिष सामाजिक सेवा नेपाल, आफन्त नेपाल, थ्रिएनजल्स नेपाल, शान्ती पुर्नस्थापना गृह सिनपा १ बेलहिया रुपन्देही , साना हातहरु, लगायतका संस्थाहरुको सहयोगी भुमिका रहेको थियो । कार्यक्रममा नगरका बिभिन्न संघ संस्था, समुहहरु, जनप्रतिनिधिहरु, सामुदायिक र संस्थागत बिद्यालयका शिक्षक र बिद्यार्थीहरु, स्वास्थ्य स्वयम्सेविका, मेलमिलापकर्ता लगायतको सहभागीता रहेको थियो ।
प्रकाशित मिति: २०२४-११-२६ , समय : २१:३४:१० , ३ घन्टा अगाडि