रुपन्देही खबर , ४३ पटक हेरिएको
भैरहवा, मंसिर ११
जनमत पार्टीले रुपन्देहीको भैरहवामा रंगभेदविरुद्धको एकता दिवस मनाएको छ । पार्टीको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार भैरहवामा नारा जुलुस तथा सभा गरेर दिवस मनाइएको हो । सिद्धार्थनगर नगरपालिका–४ स्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको जुलुस गल्लामण्डी हुदै मिलनचोक, बैंकरोड, देवकोटाचोक, आवारोड, प्रहरी टोल हुँदै मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको जनमत पार्टीका केन्द्रीय सदस्य राम अवध गुप्ताले बताउनु भएको छ ।
जुलुसमा सहभागी नेता–कार्यकर्ताहरुले रंगभेद आक्रमण बन्द गर, रंगभेद गर्न पाइँदैन, जनमत पार्टी जिन्दावाद, डाक्टर सि.के. राउत जिन्दावाद लगायतका नारा लगाएका थिए । जुलुसपश्चात आयोजित सभालाई सम्बोधन गर्दै जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले यो राष्ट्रमा विगत लामो समयदेखि मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारु समुदाय उत्पीडिनमा परेको बताउनु भएको छ । उहाले आफूहरुले कुनै जाति, धर्म, समुदायको विरोध नगरेको स्पष्ट पार्नु भएको थियो । उहाले यो राष्ट्रमा हामी मधेशी पनि छौं भन्ने देखाउन चाहन्छौं । हाम्रो सहभागीता प्रहरी, सेना, कर्मचारी लगायत राज्यका सम्पूर्ण निकायमा सहभागीता हुनुपर्छ भन्ने हो ।’ सचिव यादवले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सरकार इच्छुक नरहेकोले युवाहरु विदेशिन बाध्य भएको समेत बताउनु भएको छ ।
कार्यक्रममा पार्टीका नेताहरु चन्द्रशेखर सोनार, संजय कुमार मिश्र, रामु यादव, रामकेश गुप्ता, विनोद पासवान, मुरारी प्रजापति लगायतले बोल्दै विभेद रहेसम्म संघर्ष जारी रहने र सबैभन्दा बढी विभेद किसानमाथि भएको बताउनु भएको थियो । २०७१ मंसिर १० गते काठमाडौंको खुल्ला मञ्चमा कार्यक्रम गर्ने सिके राउत लगायत नेता–कार्यकर्ता गिरफ्तार भएका थिए । सोही घटनाको स्मरणमा जनमत पार्टीले हरेक वर्ष मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवस मनाउँदै आएको पार्टीको केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामकेश गुप्ताले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-११-२६ , समय : ०८:५४:२४ , २ घन्टा अगाडि