यु –१९ महिला क्रिकेटर तृष्णालाई ओमसतियामा सम्मान

रुपन्देही खबर , १५२  पटक हेरिएको

भैरहवा,मंसिर ७

महिला तर्फको यु १९ विश्वकपमा पुग्ने नेपाली टिमका सदस्य तृष्णा विश्वकर्मालाई सम्मान गरिएको छ । विश्वकर्माको गृहक्षेत्र ओमसतिया गाउँपालिकाले शुक्रवार दोसल्ला ओढाई, नगद ५१ हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरेको हो ।


हालै युएईमा सम्पन्न विश्वकप छनौट खेलमा नेपाली महिला टिम छनौट हुँदा विश्वकर्मा सो टिममा सदस्य हुनुहुन्थ्यो । सम्मान कार्यक्रममा आफ्ना मातापिता सहित उपस्थित हुनुभएकी विश्वकर्मालाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, प्रशासन प्रमुख रूपा थापा लगायतले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।

सम्मान लिदै क्रिकेटर विश्वकर्माले आफूलाई थप उत्साह र हौसला प्राप्त भएको जनाउदै विश्वकपमा नेपाली महिला टिमले राम्रो प्रदर्शन गर्ने बताउनु भएको छ । सम्मान गर्दै गाउँपालिका अध्यक्ष यादवले विश्वकर्माले क्रिकेटको माध्यमबाट गाउँपालिकाको नाम पनि चम्काएको बताउदै विश्वकप क्रिकेटमा छनौट गराउन सफल आफ्नै गाउँको चेलिलाई सम्मान गर्न पाउदा खुसी लागेको बताउनु भएको छ । अध्यक्ष यादवले खेलकुदलाई अघि बढाउन साग सहयोग सदैव रहने भन्दै क्रिकेट खेल अघि बढाउन मद्दत गर्ने तृष्णाको बुवा, आमालाई समेत बधाई दिनु भएको थियो ।

गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आफ्नै गाउँमा राष्ट्रिय स्तरको क्रिकेट खेलाडी रहेको र अहिले उनलाई सम्मान गर्न पाउदा हर्षित भएको बताउनु भएको छ । चौधरीले तालिम र अवसर पाए महिलाहरूले पनि राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण तृष्णा भएको बताउँदै खेलक्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनु भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले क्रिकेटले गाउँपालिकालाई चिनाएको भन्दै खेल क्षेत्रलाई अघि बढाउन गाउपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ । क्षेत्रीले सम्मानित खेलाडीको हौसलाकै लागी सानै रुपमा भए पनि सहयोग गरेको जनाउदै भविष्यमा के कसरी सहयोग गर्न सकिन्छ, तयार रहेको बताउनु भएको छ ।
तृष्णाका पिता चन्द्र भान विश्वकर्माले छोरीले मेहनत गरे अनुसारको प्रतिफल प्राप्त गरेको बताउनु भएको छ । सम्मान समारोहको सञ्चालन प्रशासन प्रमुख रुपा थापाले तथा स्वागत योजना शाखा प्रमुख सरस्वती घिमिरेले गर्नु भएको थियो । तृष्णा ओमसतिया गाउँपालिका वडा नम्बर १ ,नयागाउँकी स्थायी बासिन्दा हुन ।

प्रकाशित मिति: २०२४-११-२२ , समय : १९:०२:१३ , ४ दिन अगाडि