भैरहवामा हुने नवौं लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को तयारी तीव्र

रुपन्देही खबर , १५२  पटक हेरिएको

भैरहवा,  मंसिर ६

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा हुने नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ (पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) को तयारी तीव्र पारिएको छ ।

यही मंसिर २० गतेदेखि रुपन्देहीको भैरहवामा हुने  महोत्सवको सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरस्थित मेला स्थलमा सचिवालय उद्घाटन गरिएको छ । सचिवालयको बुधबार एक कार्यक्रमका बीच संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्घाटन गर्नु भएको छ । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारु भएपछि भैरहवामा चहलपहल बढेको बताउनु भएको छ  । उहाले सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवले औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भएको छ । संघले महोत्सवको आयोजना गरे पनि सबैले यसको अपनत्व लिनुपर्ने बताउदै यो  महोत्सव हामी सबैको भएकाले यसलाई सफल पार्नुपर्नेमा जोड दिनु भएको छ  ।

उहाले काम गर्ने क्रममा केही कमीकमजोरी भए सल्लाह–सुझाव दिन र त्यसले सुधार गर्न मौका मिल्ने बताउनु भएको छ  । उहाले महोत्सवको तयारीमा सम्पूर्ण टीम लागिपरेको बताउनु भयो ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले महोत्सवले आर्थिक चलायमान हुने विश्वास व्यक्त गर्नु भएको छ ।

‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवले पर्यटन प्रवद्र्धन एवं आर्थिक गतिविधिहरु चलायमान हुने विश्वास लिइएको सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेले बताउनु भएको छ ।  महोत्सव पुस १ गतेसम्म सञ्चालन हुने संघका सचिव तथा महोत्सवका प्रचार प्रसार समिति संयोजक मंगल भण्डारीले जानकारी दिनु भएको छ । संघका कार्यकारी उपसचिव खगेन्द्र शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२४-११-२१ , समय : ११:३२:४१ , २ हप्ता अगाडि