पश्चिम नवलपरासी लगायत देशभर राष्ट्रिय धान दिवस मनाइयो

महेश यादव , ३९३  पटक हेरिएको

परासी , असार १६
पश्चिम नवलपरासी लगायत देशभर बुधबार राष्ट्रिय धान दिवस मनाइएको छ । यस्तै गरी सरावल गाउँपालिका अन्तरगत रहेको कृषि विकास शाखाको आयोजनामा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सरावल –६ गडौरीमा सम्पन्न भएको छ । धानबालिमा जैविक विविधताको उपयोग,आयात प्रतिस्थापनमा सहयोग भन्ने मुल नाराका साथ सो दिवस मनाइएको हो ।

बाबा पशुपतिनाथ कृषक समुहका अध्यक्ष पारस नाथ गुप्ताको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा एवंम गाउँपालिका उपाध्यक्ष बासमती हरिजनको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सरावल गापालिकाबाट पनि दैनिक रुपमा युवाहरु बिना सिप विदेशिने गरेको हुदा ती युवाहरुलाई योजनाबद्ध तरिकाले आधुनिक कृषी तर्फ उन्मुख गरि स्वदेशमै रोजगारीको सृजना गर्ने बताउनुभयो ।

 

साथै उहाँले कृषी क्षेत्रको विकासको लागी सरावल गाउपालिकाले विभिन्न योजनाहरु अघि सारेको र आगामी दिनमा कृषकहरुलाई पर्ने ती सबै समस्याहरु समधानका लागी आफुहरु लागि परेको भन्दै कृषक दाजुभाइ दिदिबहिनीहरु संग १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउन पाएकोमा खुसी ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै गाउपालिका उपाध्यक्ष हरिजनले कृषि पेसालाई आधुनिकीकरण गर्नुपर्ने जोड दिदै सरावल गाउपालिकाले आधुनिक कृषि पेसालाई बढवा दिँदै सरावलबासीलाई अर्गानिक र आत्मनिर्भर बनाउने भन्दै धान दिवसको सबैमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

दहि चिउरा खाएर धान राेपाई गरेर सम्पन्न गरिएको १९ औं राष्ट्रिय धान दिवस तथा राेपाइ महाेत्सव कार्यक्रममा विशिष्ट अतिथि सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, वडा नम्बर १ का वडा अध्यक्ष विष्णु प्रसाद भट्टराई, वडा नम्बर ४ का वडा अध्यक्ष सुरेश यादव, वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मण चौधरी, वडा नम्बर –६ का वडा अध्यक्ष छाेटेलाल गुप्ता , समाजसेवी ईन्द्रकमल यादव, साईदा निशा पठान, हरिलाल यादव लगायत गाउँपालिकाका कर्माचारी र कृषकहरुकाे उपस्थिति रहेको थियो ।

 

कृषि शाखाकी अधिकृत रिनु चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख कुलदिप मिश्रले गर्नुभएको थियोे ।

प्रकाशित मिति: २०२२-०६-३० , समय : ०९:२२:२६ , २ वर्ष अगाडि