उर्मिला यादव यात्री , १७० पटक हेरिएको
भैरहवा , मंसिर १
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ स्थित गौरीमा सिलौटीया मेला सुरु भएको छ । प्राचिन काल देखि धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ओमसतियामाई श्री रामजानकी मन्दिरको अदभुत शक्तिको रुपमा चिनिने र आफ्नै पहिचान रहेको हुँदा सदिऔं देखि कार्तिक शुक्ल पूर्णिमाको दिन हुने मेला शुक्रबार देखि सुरु भएको हो ।
ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादवले ओमसतियामाई मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा स्थापित गर्न गाउँपालिकाले गुरुयोजना बनाएर काम गर्ने बताउनु भएको छ । उहाले सानो सानो बजेटले ओमसतियामाइ मन्दिरको बिकास हुन नसक्ने भएकोले यसमा पहल भैरहेको समेत जानकारी दिनु भएको छ । उहाले पालिकाबाट सामुदायिक भवनको लागी बजेट बिनियोजन गरेको समेत बताउनु भएको छ ।
कार्तिक २७ गते एकादशीको दिन देखी मेला सुरु भएसंगै रातिमा रामलिला सुरु भएको र कार्तिक पुर्णिमाको भोलिपल्ट अर्थात आज मंसिर १ गतेसम्म मेला आयोजना हुने ओमसतिया गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदन पोखरेलले जानकारी दिनु भएको छ ।
श्री ओमसतियामाइ रामजानकी मन्दिर मेला ब्यवस्थापन समितीका संयोजक केशव प्रसाद यादवले सात आठ बर्ष देखी यो धार्मिक मेला लागेको बताउनु भएको छ । उहाले मेलालाई ब्यवस्थित बनाउनका लागी दुकान स्टलहरु ब्यवस्थित तरिकाले लाइन बद्ध रुपमा राखेको बताउनु भएको छ । बाटोघाटोको राम्रो ब्यवस्था गर्नुका साथै मेलामा ५० जनाको सुरक्षा समिति बनाएको जानकारी दिनु भएको छ । उहाले आज मेलामा कुस्ती दंगल प्रतियोगिता हुने समेत जानकारी दिनु भएको छ । आज दिउसो १२ बजेदेखी कुस्ती प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
कुस्ती प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्धितीयलाई २५ हजार , सान्त्वना हुने पहलवानलाई १५ हजार रुपैया पुरस्कारको ब्यवस्था गरिएको छ । साथै कुस्ती प्रतियोगितामा एक हजार रुपैया देखि १० हजार रुपैया सम्मका बिभिन्न जोडीहरुको बेजोड प्रस्तुती रहने मेला संयोजक केशव प्रसाद यादवले बताउनु भएको छ । साढे ३ सय वर्ष पुरानो ओमसतियामाई मन्दिर अझै पनि राष्ट्रिय सम्पदासुचीमा सुचीकृत हुन सकेको छैन ।
प्रकाशित मिति: २०२४-११-१६ , समय : १२:१०:०८ , ५ दिन अगाडि