रास्वपाका सभापति लामिछानेलाई बयानका लागि भैरहवा ल्याइयो

रुपन्देही खबर , २१०  पटक हेरिएको

भैरहवा , कार्तिक २७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देहीको भैरहवा ल्याइएको छ । सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका लामिछानेलाई आज  दिउँसो पौने १ बजे भैरहवा ल्याइएको हो । उनलाई बुद्ध एयरको जहाजबाट दिउँसो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जिल्ला सरकारी वकील कार्यालयमा रुपन्देहीमा पुर्‍याइएको छ । बिहानैबाट भैरहवामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । विमानस्थल गेट बाहिर रास्वपाका नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा विगत २६ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई रुपन्देही ल्याइएको रुपन्देहीका प्रहरी प्रमुख (एसपी) रञ्जित सिंह राठौरले जानकारी दिनु भएको छ ।

कार्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पक्राउ पूर्जी जारी गरेको थियो । कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई त्यसै राति पोखरा लगिएको थियो ।

पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि पोखराको मौसम खराब भएकाले उडानमा ढिलाइ भएको थियो । पोखराबाट १२ बजे उडेको जहाज भैरहवामा १२ बजेर २८ मिनेटमा अवतरण गरेको थियो ।

रुपन्देही प्रहरीका अनुसार लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकील कार्यालय लगिएको छ । रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरका अनुसार सकेसम्म आजै लामिछानेको बयान सक्ने तयारी छ । लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ ।

लामिछाने सहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राई सहित झण्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । तीमध्ये लामिछानेसहित १२ जनालाई कार्तिक ८ गते अनुमति दिएको थियो । त्यहीअनुसार कार्तिक २ गतेदेखि एकै प्रकृतिको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार बयानका लागि भैरहवा ल्याइएको हो ।

 

प्रकाशित मिति: २०२४-११-१२ , समय : १५:२२:०८ , ३ हप्ता अगाडि