मर्चवार आदर्श बहुमुखी क्याम्पसको ७ औंं वार्षिक साधारण सभा सम्पन्न

क्याम्पसले मर्चवारमा शैक्षिक क्रान्ति ल्याएको : गाउँपालिका अध्यक्ष त्रिपाठी

रुपन्देही खबर , ६८  पटक हेरिएको

मर्चवार, कार्तिक ९

रुपन्देहीको कोटहीमाइ गाउपालिका वडा नम्बर ५ मझगावामा रहेको मर्चवार आदर्श बहुमुखी क्याम्पसको ७ औंं वार्षिक साधारण सभा बिहीबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । क्याम्पस संचालक समितीका अध्यक्ष तथा कोटहीमाइ गाउपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षता तथा जिल्ला समन्वय समिति रुपन्देहीका उपसभापति रामकृपाल धवलको प्रमुख आतिथ्यतामा ७ औंं वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका उपसभापति धवलले मर्चवार आदर्श बहुमुखी क्याम्पस मर्चवारको शैक्षिक धरोहरको रुपमा रहेको बताउनु भएको छ । उहाले मर्चवार क्षेत्रका विद्यार्थीहरुले गाउँघर क्षेत्रमा उच्च शिक्षा हासिलको लागि पहिलो बहुमुखी क्याम्पसको रुपमा स्थापना भएको भन्दै यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनु भएको छ ।

उहाले मर्चवार आदर्श बहुमुखी क्याम्पसले प्रभावकारी रुपले शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिदै सामूदायिक विद्यालयप्रति आम नागरिकको विश्वास बढाउनुपर्ने बताउनु भएको छ । यसका लागि शिक्षक, व्यवस्थापन समिति तथा अभिभावक सबैले भूमिका महत्वपूर्ण हुन्ने उहाले उल्लेख गर्नु भयो ।

त्यस्तैगरी क्याम्पस संचालक समितीका अध्यक्ष तथा कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले मर्चवार आदर्श बहुमुखी क्याम्पस प्रगतितर्फ बढिरहेको बताउनु भएको छ । उहाले स्थापनाकालदेखि नै क्याम्पसको व्यवस्थापन तथा शैक्षिक गुणस्तरमा जोड दिएको भन्दै मर्चवार आदर्श बहुमुखी क्याम्पस मर्चवारमा शैक्षिक क्रान्ति ल्याएको बताउनु भयो ।

यस्तै गरी मर्चवार आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामकेश प्रसाद पालले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसले विभिन्न चुनौतीहरुको सामना गर्दै आएको बताउनु भएको छ । उहाले विद्यार्थीहरुलाई अध्यापनको लागि कक्षाकोठा पर्याप्त भए पनि अन्य आवश्यक भवन तथा व्यवस्थापन तथा सञ्चालन खर्चको अभाव रहेको बताउनु भएको छ । क्याम्पस प्रमुख पालले क्याम्पस सञ्चालनको लागि भवन भएर मात्र हुँदैन, त्यसलाई सञ्चालन गर्न शिक्षकको तलब, पुस्तकालय, मसलन्द, फर्निचर, विद्युतीय उपरकण, प्रयोगात्मक शिक्षण सामग्री लगायत विभिन्न कुराको व्यवस्थापन गर्न अति जरुरी रहेकाले गाउपालिकाले समेत यस तर्फ ध्यान दिन आग्रह गर्नु भएको छ । वि.सं. २०६७ सालमा स्थापना भएको यो क्याम्पसमा ३ सय ९२ जना विद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पस प्रमुख पालले जानकारी दिनु भएको छ ।

यस्तै गरी ७ औंं वार्षिक साधारण सभामा क्याम्पसका लेखापाल श्याम सुन्दर पालले क्याम्पसको लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा क्याम्पस प्रशासकिय सहायक अबिजित कुमार त्रिपाठीको स्वागत मन्तब्य रहेको कार्यक्रममा कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौड, कोेटहीमाई गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष संजय कुमार सैनी, क्याम्पस संचालक समितीका सदस्य रामप्रसाद यादव, मर्चवार आदर्श बहुमुखी क्याम्पसका आजिवन सदस्य जगन्नाथ प्रसाद कुर्र्मी लगायतले शुभकामना मन्तव्य राख्दै मर्चवारका बिद्यार्थीहरुलाई बाहिर शिक्षा हासिल गर्न जाने वातावरण रोक्नका लागी सोही अनुसारको शिक्षा मर्चवारमा दिनु पर्नेमा जोड दिएका थिए भने कार्यक्रम संचालन क्याम्पसका शिक्षक महेश गुप्ताले गर्नु भएको थियो ।

 

प्रकाशित मिति: २०२४-१०-२५ , समय : १०:१२:०२ , २ घन्टा अगाडि