श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल साफ च्याम्यिनसिपको सेमिफाइनलमा

रुपन्देही खबर , ७४  पटक हेरिएको

काठमाडौं , कार्तिक ८

साफ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा श्रीलंकाविरुद्ध ६-० गोलअन्तरले पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो हाफमा ४ गोल गरेको थियो भने दुई गोल दोस्रो हाफमा भयो । खेलको सातौँ मिनेटमा सविता रानामगरले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

सविताले सावित्रा भण्डारी (साम्बा)ले उपलब्ध गराएको पासमा गोल गरेकी हुन् । त्यसपछि खेलको ११औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सावित्राले डिबक्स बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । खेलको १३औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै घरेलु टिम नेपाललाई ३–० को अग्रता दिलाएकी हुन् ।

त्यसपछि खेलको ३६औँ मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाइन् । अमिशा कार्कीले दोस्रो हाफको सुरुमै गोल गर्दै खेल ५–० को स्थितिमा ल्याइन् । तर, नेपालले थप अर्को गोल गर्न इन्जुरी समयसम्म पर्खिनु परेको थियो । खेलको इन्जुरी समयमा हेडमार्फत रश्मी केसीले गोल गर्दै नेपाललाई ६–० को जित दिलाइन् ।

प्रकाशित मिति: २०२४-१०-२४ , समय : २०:११:०५ , २ घन्टा अगाडि