एमाले सिद्धार्थनगरको दोस्रो अधिवेशन कार्तिक १२ गते हुने

रुपन्देही खबर , ७१  पटक हेरिएको

भैरहवा, कार्तिक ५

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशन यही कार्तिक १२ गते हुने भएको छ । आइतबार भैरहवामा बसेको नगर कमिटीको पूर्ण बैठकले कार्तिक १२ गते सोमबार बिहान ११ बजेदेखि सिद्धार्थनगर नगरपालिका–१२ स्थित युनिक बैंक्वेटमा दोस्रो अधिवेशन गर्ने निर्णय गरेको हो । नगर अधिवेशनका लागि यही कार्तिक ९ गते शुक्रबार दिउँसो १ बजे १३ वटै वडामा प्रतिनिधि छनौट गरिने एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताउनु भएको छ ।

अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समितिहरु बनाइएको छ । जसअन्तर्गत अधिवेशन आयोजक समितिको संयोजकमा नगर अध्यक्ष चक्र बहादुर थापा रहनु भएको छ । । त्यस्तै आर्थिक समितिमा अर्जुन कुमार गिरी, मञ्च व्यवस्थापनमा कुमार गुरुङ, प्रतिनिधि व्यवस्थापनमा माया कंडेल, प्रचार प्रसार समितिमा शशि पन्थी र स्वयंसेवक व्यवस्थापनमा नर्जुन गुरुङ रहनु भएको छ । बैठकमा बोल्दै प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले सिद्धार्थनगरमा पार्टीलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले त्याग र समर्पणको संस्कृति स्थापित गर्न आग्रह गर्नु भएको छ ।

राष्ट्रिय सभाका पूर्व सदस्य तथा एमाले रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज समेत रहनु भएको नेता भट्टराईले वर्तमान सरकार राम्रो काम गर्नका लागि बनेको बताउनु भएको छ । उहाले अर्थतन्त्रमा सुधार, संविधान संशोधन, विकास निर्माणका कार्यलाई तीव्रता दिन लगायत एजेण्डाका साथ नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनाएका बताउदै हामीविरुद्ध अहिले पनि घेराबन्दी छ, ’उहाले भन्नु भयो । त्यस्तै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले सिद्धार्थनगरमा एमाले कमजोर नरहेको दावी गर्नु भएको छ । उहाले भन्नु भयो ‘कसैले पार्टी छोड्छु भन्दै धम्काएर केही फरक पर्दैन ।’ २०८४ सालमा हुने निर्वाचनमा एमालेले बहुमतका साथ निर्वाचन जित्नुपर्ने उहाको भनाइ छ ।

पार्टीको रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले सिद्धार्थनगरलाई एमालेको किल्लाको रुपमा स्थापत गर्नुपर्नेमा जोड दिनु भएको छ । एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थीले अधिवेशनले सभ्य र भव्य रुपमा सफल बनाउनुपर्ने बताउनु भयो । पार्टीको रुपन्देही जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरलाई एमालेमय बनाउनुपर्ने र आगामी निर्वाचनमा पार्टीलाई बहुमतका साथ जिताउनपर्ने बताउनु भएको छ । एमाले सिद्धार्थनगरका उपसचिव कुमार गुरुङको स्वागत तथा उपसचिव माया कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२४-१०-२१ , समय : २०:५४:३४ , १५ घन्टा अगाडि