यु.सि.यम.यस.शिक्षण अस्पताल भैरहवाद्धारा मेडिकल शिक्षा सम्बन्धी गोष्ठी सम्पन्न

रुपन्देही खबर , १५६  पटक हेरिएको

भैरहवा, असोज ३०

१० अक्टुबर अर्थात विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा यु.सि.यम.यस. शिक्षण अस्पताल भैरहवाको ‘नशा तथा मानसिक रोग विभाग’को आयोजनामा निरन्तर मेडिकल शिक्षा अन्तर्गत गोष्ठी सम्पन्न भएको छ । यु.सि.यम.यस. शिक्षण अस्पताल, भैरहवाका ‘नशा तथा मानसिक रोग विभाग’ प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को प्रमुख आतिथ्यतामा असोज २३ गते बुधबार गोष्ठी सम्पन्न हो ।

कार्यक्रममा मानसिक रोग विभागका आवासिय चिकित्सक डा.शैली श्रेष्ठले मानसिक स्वास्थ्यको महत्व, चुनौती र अवसर, विश्वव्यापीरुपमा यसलाई मनाइने कारण, कार्यस्थलमा मानसिक स्वास्थ्यको भुमिका र प्रभाव लगायतका बारेमा सहजीकरण गर्नु भएको थियो । यस्तै गरी यु.सि.यम.यस. शिक्षण अस्पतालका प्राचार्य प्रा.डा.लक्ष्मी पाठकले कुनै पनि व्यक्ति मानसिक रुपमा स्वास्थ्य नभए सम्म उसले आफ्नो काममा पुर्णरुपमा योगदान दिन नसक्ने हँुदा सबैले यसमा ध्यान दिन आवश्यक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा यस वर्षको अन्तराष्ट्रिय विषय ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा विभिन्न विज्ञहरुले कसरी काम गर्ने, वातावरण मैत्रीपूर्ण, सम्मानजनक, अपनत्व महशुस गर्ने तथा सुमधुर बनाउने भन्ने विषयमा केन्द्रित भएर आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा.अनमोल बन्धु कार्कीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै हाल विश्वमा करिब २० प्रतिशत मानिसहरु त्यसमा पनि बच्चा तथा किशोरहरु मानसिक स्वास्थ्य समस्याबाट ग्रसित रहेको बताउनु भएको थियो । उहाका अनुसार प्रत्येक वर्ष करिब ८ लाख भन्दा बढी मानिसहरु आत्महत्या गर्न प्रयासरत रहने गरेका छन ।

डा.मोहम्मद नसिम अकरम मिकरानीले संचालन गर्नु भएको गोष्ठीमा सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखी, मेट्रोन विष्णु गुरुङ्ग लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-१०-१६ , समय : १०:४६:४३ , ६ दिन अगाडि