भुजहवा प्रहरी चौकीद्धारा तपाईंको हेल्मेट खोई अभियान सुरु

ज्ञानेश्वर सहानी , १६६  पटक हेरिएको

नवलपरासी,असोज २४

सुरक्षित यात्राका लागि अनिवार्य रुपमा हेल्मेट प्रयोग गरौं भन्ने मुलनाराका साथ प्रहरी चौकी भुजहवा नवलपरासीद्वारा होडिङ बोर्ड तथा स्टिकर टाँस्ने कार्य शुरु भएको छ। प्रहरी चौकी भुजहवाको आयोजना तथा कुबेर बचत तथा ऋण सहकारी संस्था सरावल ६  भुजहवाको सहकार्य तथा समाजसेवी अरविन्द यादवको सहयोगमा होडिङ बोर्ड तथा स्टिकर टाँस्ने कार्य शुरु भएको हो ।

प्रहरी चौकी भुजहवाका प्र.ना.नि.महेश कुँवरका अनुसार सरावल गाउँपालिका वार्ड नं ६ र ७ का विभिन्न चोकको ६ ठाउँमा तपाईंको हेल्मेट खोई? होडिङ बोर्ड र सन्देशमुलक स्टिकर मोटरसाइकलहरुमा टाँसिएको छ । तराई मधेस भेगमा बढी मात्रामा मोटरसाइकल चलाउँदा हेल्मेटको प्रयोग नगर्नाले दुर्घटना हुने भएको तथा त्यस्ता दुर्घटना न्यूनिकरण गर्न उक्त अभियान सुरु गरिएको बताउनु भएको छ ।

कार्यक्रममा वार्ड नं ०६ का वडा अध्यक्ष छोटेलाल गुप्ता , ७ का वडा अध्यक्ष हेयात अलि धुनिया, सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विरेन्द्र यादव लगायतको सहभागिता रहेको थियो।

प्रहरी चौकी भुजहवा नवलपरासीले दुईपाङ्ग्रे सवारीसाधनमा अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने व्यवस्था लागु गर्ने घोषणा गरि त्यसबारे विभिन्न किसिमका कार्यक्रमहरू चलाएको छ। सडक दुर्घटनामा दुईपाङ्ग्रे सवारीसाधन बढी पर्ने र हेल्मेट नलगाउने को कारण पछाडि बस्ने व्यक्तिको ज्यान जाने वा दीर्घकालीन रूपमा असर पुर्‍याउने खालका गम्भीर चोट वा अन्य समस्या उत्पन्न भएका घटनाको सङ्ख्या बढेको प्रहरी अधिकारीहरूको भनाइ छ। त्यस्ता घटनालाई रोकथाम गर्न सुरक्षात्मक उपायका रूपमा हेल्मेट अनिवार्य लगाउनुपर्ने प्रहरीको तर्क छ।

“गत बर्षको तथ्याङ्क हेर्ने हो भने नवलपरासीमा भएका दुईपाङग्रे सवारी साधन दुर्घटनामा परेर १३ जना चालक र पछाडि बस्ने यात्रुले ज्यान गुमाएका छन्,” जिल्ला प्रहरी कार्यालय नवलपरासीको सूचना अधिकारी रेशम बोहराले जानकारी दिनु भएको छ ।

अव्यवस्थित सहरीकरण, साँघुरा सडक र सडक अनुशासनको कमीका कारण नवलपरासीमा सवारीसाधनबाट हुने दुर्घटना बढ्दो क्रममा रहेको बोहराले बताउनु भयो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा २ मा दुईपाङ्ग्रे सवारीचालक तथा सो सवारीमा बस्ने मानिसले हेल्मेट लगाउनुपर्ने उल्लेख गरिएको छ।

दुईपाङग्रे सवारी साधनमा यात्रुले हेल्मेट लगाउने प्रावधान यसअघि पनि लागु गरिएको थियो। मोटरसाइकल र स्कुटरमा ‘डबल हेल्मेट’ को प्रावधान नयाँ होइन। राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा तत्कालीन स्वास्थ्यमन्त्री डा. उपेन्द्र देवकोटाको पहलमा यो नियम लागू भएको थियो। सो प्रावधान सशस्त्र माओवावादी द्वन्द्वका बेला सुरक्षा चुनौतीका रूपमा देखा परेपछि खारेज गरिएको थियो।

प्रहरीले ल्याउन लागेको योजनालाई अत्थपुर्ण मान्दै टाउकोको तौल अन्य अङ्गको भन्दा बढी हुने हुँदा सवारीबाट लडेको अवस्थामा टाउको ठोक्किने सम्भावना बढी हुन्छ। तसर्थ टाउकोको सुरक्षा गर्न थप आवश्यक भएकोले अनिवार्य रूपमा हेल्मेट लगाउन जरुरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीको प्रमुख ज्ञानेन्द्र प्रसाद फुयाल ले बताउनुभएको छ।

ट्राफिक प्रहरी अनुसार विभागले हेलमेटको गुणस्तर मापदण्ड तयार गरिसकेको छ। दुर्घटना हुँदा टाउकोमा चोटको जोखिम कम होस् भनेर हेल्मेटको मापदण्ड तय गरिएको छ। ‘जसरी खाद्यान्न, निर्माण सामग्री लगायतमा मापदण्ड तोक्छौं, त्यस्तै व्यवस्था हेल्मेटमा पनि गरेका छौं,’ उहाले भन्नु भयो, ‘बजारमा पाइने सस्ता र कमसल हेल्मेटले यात्रुलाई सुरक्षा दिँदैन, त्यसैले सुरक्षित र गुणस्तरीय हुनु जरूरी छ।’

प्रकाशित मिति: २०२४-१०-१० , समय : ०७:५२:३१ , १ हप्ता अगाडि