सिद्धार्थनगरमा छाडा कुकुरहरुको बन्ध्याकरण तथा रेबिजभ्याक्सिनेसन कार्यक्रम सुरु

रुपन्देही खबर , १२३  पटक हेरिएको

भैरहवा, असोज १८

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सामुदायिक छाडा कुकुरहरुको बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन कार्यक्रम सुरु गरेको छ । विश्व पशु दिवसको अवसर पारेर समुदायमा रहेका छाडा कुकुरको टोकाइबाट लाग्ने रेबिज रोगबाट नगरबासीलाई बचाउने र छाडा कुकुर नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम आजदेखी सञ्चालन गरिएको हो ।
यो कार्यक्रम यसपटक पहिलो चरणमा असोज १८ गते देखी असोज २३ गतेसम्म सञ्चालन गरिने र सवै छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाउन छुटेमा फेरी पनि दशै पछि यो कार्यक्रम सञ्चालन गरिने सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले जानकारी दिनु भएको छ ।

६ दिनसम्म सञ्चालन हुने यो कार्यक्रममा टोलटोलमा पुगेर कुकुरहरु ल्याइने र संकलित कुकुरहरुको बन्ध्याकरण रेबिज भ्याक्सिन लगाउने काम हिमालयन एनिमल रेस्क्यू ट्रष्ट हर्ट नेपालका पशु चिकित्सक एवं प्राविधिक टोलीले गर्ने सिद्धार्थनगर नगरपालिकाका कृषि तथा पशुपंक्षी विकास शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले बताउनु भएको छ ।

उहाका अनुसार पहिलो दिन आज शुक्रबार ५१ बटा कुकुरलाई बन्ध्याकरण गरी रेबिज भ्याक्सिन लगाइएको छ । कार्यक्रम सञ्चालन अवधिभर २ सय ५० बढी कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिइएको यादवले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-१०-०४ , समय : १४:५२:१८ , २ हप्ता अगाडि