२०८१ को प्रथम त्रैमासिक परीक्षाको नतिजा अभिलेख राखी अध्ययन गर्ने रोहिणीको निर्णय

रुपन्देही खबर , १०३  पटक हेरिएको

भैरहवा, असोज १५

रोहिणी गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक वर्ष २०८१ को प्रथम त्रैमासिक परीक्षाको लागि नतिजा अभिलेख राखी अध्ययन गर्ने निर्णय गरेको छ । सोमबार गाउँपालिकामा बसेको शिक्षा समितिको बैठकले नतिजाको समीक्षा गर्ने, सुधारका लागि छलफल गरी सोको जानकारी स्थानीय सरकारका कार्यपालिका सदस्यहरु, सरोकारवाला, राजनीतिक दल, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सञ्चार जगतलाई गराउनुका साथै नतिजा सुधारका लागि विद्यालयहरुलाई दबाब दिने निर्णय गरिएको रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले जानकारी दिनु भएको छ ।

त्यसै गरी प्रधानाध्यापकहरुलाई व्यापक रुपमा सशक्तिकरण गर्नुका साथै पूर्ण रुपमा जवाफदेही बनाउने, विद्यालय व्यवस्थापन समितिले विद्यालयमा नतिजा सुधारको लागि वातावरण बनाउने, गाउँ शिक्षा समितिले नतिजा सुधार सम्बन्धमा गरेको सबै निर्णयलाई लिखित रुपमै विद्यालयलाई जानकारी गराउने, तोकिएको नतिजा हासिल गर्नका लागि प्रधानाध्यापक र विषयगत शिक्षकबीच कार्यसम्पादन करार सम्झौता गर्ने निर्णय भएको घिमिरेले बताउनु भयो ।
त्यस्तै बैठकले गाउँ शिक्षा समितिका सदस्य तारानाथ त्रिपाठीलाई विद्यालय अनुगमन गर्न लगाइ सुधारको लागि मार्गचित्रसहितको प्रतिवेदन पेश गर्न लगाउने निर्णय गरेको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नारायण ढुंगानाले बताउनु भएको छ ।
बैठकले पढाइको माध्यम अंग्रेजी विषयबाहेक अनिवार्य रुपमा नेपाली भाषाको प्रयोग गर्न आवश्यक कार्य गर्ने, नतिजा सुधारका लागि विद्यार्थीहरुसमेत परिचालन गर्ने–गराउने र विद्यार्थी नियमितताको लागि स्थान विशेष अनुरुपको प्रयास गर्ने लगायत निर्णयहरु गरेको छ ।

गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकमा बोल्दै यादवले शैक्षिक गुणस्तर सुधारका लागि सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले ‘सबैले आफ्नो दायित्व बुझ्नुपर्ने बताउदै सबै जिम्मेवार बनेर कडाइ गर्नुपर्ने बताउनु भएको छ ।
यस्तै गरी बैठकमा बोल्दै गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले शिक्षा क्षेत्रको विकासका लागि सबै एकजुट भइ अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले प्रधानाध्यापक विद्यालयको प्रशासक रहेको बताउदै उहाले प्राथमिक तहदेखिको पढाइलाई मजबुत बनाउन सके शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताउनु भएको छ ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नारायण ढुंगानाले विषयगत शिक्षकले आफूले पढाएको विषयप्रति जवाफदेही र जिम्मेवार हुनैपर्ने बताउनु भयो । बैठकमा गाउँ शिक्षा समितिका सदस्यहरु तारानाथ त्रिपाठी, इन्द्र कुमार यादव, मुबारक अली, मनोज कुमार यादव, धनेश्वर कंवर, प्रेमनाथ त्रिपाठी, लक्ष्मी जि.सी.लगायतले शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक प्रयास आवश्यक रहेको जोड दिनु भएको थियो ।

प्रकाशित मिति: २०२४-१०-०१ , समय : २०:४०:३३ , २ हप्ता अगाडि