रुपन्देही खबर , १९१ पटक हेरिएको
नवलपरासी, असोज १४
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। नवलपरासीको दाउन्नेमा सडक भासिएको र होङ्सी सिमेन्टको विद्युत आपूर्ति गर्ने हाइटेन्सन लाइन पनि ढलेकाले साँझदेखि बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा सडक चर्केर भासिएको छ र सडकछेउको रिटेनिङ पर्खाल पनि फुटेको छ।
विद्युत लाइनको ठूलो पोल पनि सडकतर्फ नै ढलेको छ। प्रहरीले सडक चर्किएर साढे १ फिट भासिएको बताएको छ। प्रहरीका अनुसार साँझ सवा ५ बजेदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको र बाटो खुलाउन, सडक डिभिजन कार्यालय र विद्युत कार्यालयसँग समन्वय भइरहेको छ।
बाटो धसिएपछि पूर्वबाट पश्चिम जाने गाडीहरु दुम्किवासमा रोकिएका र पश्चिमबाट पूर्व जाने सवारीसाधनहरु बर्दघाटमै रोकिएका नवलपुर प्रहरीले जनाएको छ। बाटो अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।
प्रकाशित मिति: २०२४-०९-३० , समय : २१:५१:०५ , २ महिना अगाडि