रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षाको लागि ६ सय ९५ जना सुरक्षाकर्मी परिचालन गरिने

रुपन्देही खबर , ८७  पटक हेरिएको

भैरहवा, असोज १२

रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षाको लागि ६ सय ९५ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व लक्षित बिशेष सुरक्षा योजना सार्वजनिक गर्दै सो बारे जानकारी दिएको हो । नेपालीहरुको महान पर्व बिजयादशमी, दिपावली र छठ पर्वलाई मध्यनजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व अवधिभर नियमित गतिविधिको साथै थप प्रहरीहरु खटाउने जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले चाडपर्वमा हुन सक्ने बिसंगति, विकृति विरुद्ध थप प्रहरी परिचालन गरेको बताउनु भएको छ । राठौरले ट्राफिक सहितको पिकेट ४३ स्थानमा र ट्राफिक प्रहरी सहितको चेक प्वाईन्ट १९ स्थानमा राखिने जानकारी दिनु भयो ।

प्रत्येक प्रहरी ईकाईमा प्रहरी टोली तत्काल कार्यवाही टिम क्युआरटिको रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाएको राठौरले बताउनु भएको छ जसको लागि ४९ वटा क्युआरटि टिम बनाइएको र यस बाहेक १७ वटा मोबाईल गस्ती, १८ वटा पैदल गस्ती परिचालन गरिने उहाले बताउनु भयो ।

चाडपर्वको समयमा बढी पटका, आतीसबाजीको प्रयोग हुने भएकोले सोको नियन्त्रणमा पनि प्रहरी कडाईका साथ प्रस्तुत हुने जनाईएको छ । पटकाको प्रयोग वा यसको बिक्रि बितरण गरेको पाईए कार्यवाही गरिने राठौरले बताउनु भयो । चाडपर्व लक्षित सुरक्षाको लागि एक सिफ्टमा ६ सय ९५ जना सुरक्षाकर्मी परिचालन गरिने उहाले जानकारी दिनु भयो ।

चाडपर्वमा हुन सक्ने अपराधको पूर्वानुमान गरि सरोकारवालाहरु संगको छलफल गरि प्रहरीले रणनिति बनाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भएको छलफल तथा अन्तरक्रियामा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सरोकारवाला निकायहरुलाई आ–आफ्नो भूमिका निवार्ह गर्न आग्रह गर्नु भएको छ । चाडपर्वमा चोरी, ठगी, कुटपिट झै झगडा मात्र नभई दुर्घटनाहरु पनि बढ्ने हुदा त्यसको न्यूनिकरणको लागि प्रशासनमा गरिएको निर्णय कार्यान्वयनमा सहयोग पु¥याउन उहाले आग्रह समेत गर्नु भएको छ ।

चाडपर्वमा सवारी साधनको मनोमानी भाडादर, क्षमता भन्दा बढी सवारी, टिकटमा मनोमानी लगायतको गुनासोहरु आउने गरेकोले यसको नियन्त्रणको लागि सादा पोशाकका प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भयो ।

राजमार्ग लक्षित गरि रातीको समयमा गस्ती बढाउने योजना रहेको, बन्द रहने सरकारी कार्यालय, तथा संघ–सस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरु संग समन्वय सहितको सुरक्षा व्यवस्था मिलाईने उहाले बताउनु भयो ।

प्रहरीका बिभिन्न युनिटहरुले विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्ये नजर राखी पैदल, साईकल, मोटरसाईकल र गाडी गस्ती परिचालन गरिने भएको छ । बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरुलाई सुरक्षित यात्राको प्रत्याभुती दिलाउने योजनामा प्रहरी रहेको छ । यस अतिरिक्त चाडपर्व लक्षित अपराध बढन सक्ने भएकोले नागरिकलाई पनि चनाखो हुन प्रहरीले अपिल गरेको छ ।


कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सिमाक्षेत्रबाट हुने ब्यापक तस्करीको निरुत्साहन गर्नुपर्ने बताउनु भएको छ । उहाले भारतबाट बिलबिजक बिना सामान ल्याउन नपाइने बातावरण बनाउन आग्रह गर्नु भएको छ । उहाले

चाडपर्वको बेलामा उद्योगी ब्यवसायीले कालोबजारी गरेको पाएमा तुरुन्तै कारवाही गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले चाडपर्वमा लक्षित हुदा बुटवल नारायणघाट सडक खण्डको कुरा उठाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले भैरहवाबाट काठमाडौं जाने गाडी र बिरगंजबाट काठमांडौका लागी छुटने गाडी भाडामा एकरुपता नभएको गुनासो समेत गर्नु भएको छ । उहाले यस बिषयमा दबाब मुलक कार्यक्रम गरी यसलाई नियन्त्रण गर्न सकिने जोड दिनु भयो । चाडपर्वको समयमा लुटपाट, चोरी, लगायत दुर्घटना बढी हुने भएकोले सिद्धार्थनगर पालिका भित्र जडान भएका सिसीटिभी क्यामरा मर्मतका लागी नगरपालिकाले बजेट छुटयाएर काम गर्नुपर्ने बताउनु भएको छ ।

यस्तै गरी चेम्बर अर्फ कर्मस रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले चाडपर्वको बेलामा बिदेश लगायत भारतबाट फकिर्ने नेपालीहरु लुटपाट लगायत अन्य जोखिममा परेकोले सम्बन्धित क्षेत्रमा सुरक्षाको ब्यवस्थापन मिलाउन आग्रह गर्नु भएको छ । उहाले चाडपर्वको समयमा गाडीमा क्षमता भन्दा बढी यात्रुहरु राख्ने, भाडादर मिलेन भन्दै बिचबाटोमा झार्ने लगायतका बिषयमा निगरानी बढाउन आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: २०२४-०९-२८ , समय : १०:२१:४७ , ४ हप्ता अगाडि