रुपन्देही खबर , २३५ पटक हेरिएको
भैरहवा, असोज १०
सिद्धार्थ होटल एसोसियसन नेपाल(शान) ले भोलिदेखि भैरहवामा हुने दुइदिने सडक खाना महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । ४५ औ विश्व पर्यटन दिवस र संस्थाको १८ औं स्थापना दिवसको अवसरमा सिद्धार्थ होटल एसोसियसन नेपालले आयोजना गरेको खाना महोत्सव भोलि शुक्रवार साझ ५ बजेदेखि भैरहवाको देवकोटा चोकमा सुरु हुने सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिनु भएको छ ।
सेप्टेम्बर २७ र २८ तारिख अर्थात असोज ११ र १२ गते भैरहवा खाना महोत्सव तथा सांगीतिक साँझ–२०८१ आयोजना गरिएको र कार्यक्रममा ५० बढी स्तरिय होटलहरुको स्टल रहने अध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाले पर्यटन दिवसमा सीमामा गएर पर्यटकलाई स्वागत गर्ने पराम्परागत तरिकाबाट अलि माथी उठेर यो पृथक कार्यक्रम ल्याएको र यसले लुम्बिनीमा आउने पर्यटकलाई थप आकर्षित उद्देश्य रहेको बताउनु भयो ।
कार्यक्रमको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने श्रेष्ठले बताउनु भयो । कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने उहाले जानकारी दिनु भएको छ ।
महोत्सवमा प्रदेश भरीबाट ५ तारे होटल, ४ तारे होटल, ३ तारे होटल तथा अन्य सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरुका आकर्षक स्टलहरु रहेको कार्यक्रम संयोजक बिनोद खरेलले जानकारी दिनु भएको छ । कार्यक्रममा पहिलो दिन दुर्गेश थापा, एलिना चौहान, संजना सिल्क, ईन्दु दनुवार, अफसर अली र वैन्ड–लाइभको प्रस्तुति रहने छ । यस्तै दोश्रो दिन अस्मिता अधिकारी, प्रिती पासवान, प्रशन्सा पाण्डे, मनिष कार्की लगायतको प्रस्तुती रहने खरेलले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-०९-२६ , समय : २२:५४:४९ , २ महिना अगाडि