सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ७१ औं स्थापना दिवस

रुपन्देही खबर , ३२  पटक हेरिएको

भैरहवा, असोज २

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले मंगलबार एक कार्यक्रमका बिच आफ्नो ७१ औं स्थापना दिवस मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले सिद्धार्थ उद्योग वाणिज्य संघमा अझै धेरै उद्योगी–व्यवसायीलाई आबद्ध गराउनु पर्ने बताउनु भएको छ । उहाले वर्तमान सरकारले उद्योगी–व्यवसायीको अनुहारमा मुस्कान ल्याउनु पर्नेमा जोड दिदै निर्यात गर्न सकिने सामानहरुका बारेमा सम्बन्धित मन्त्रालयले बुझाउनुपर्ने बताउनु भएको छ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष समेत रहनु भएको खाँले नगरपालिकाले ४६० भन्दा बढी गाईगोरुको व्यवस्थापन गरेको बताउनु भएको छ । उहाले गाईगोरुलाई सडकमा छाडिदा समस्या भएको बताउदै फोहोरमैला व्यवस्थापन कार्य छिटो अगाडि बढ्ने जानकारी दिनु भयो ।

यस्तै गरि संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले संघले पहिलोपटक स्थापना दिवस मनाएको बताउनु भएको छ । उहाले वि.सं. २०११ सालमा स्थापना भएको संघले उद्योगी–व्यवसायीको हकहितमा काम गर्दै आएको बताउदै‘उद्योगी–व्यवसायीमा मात्र सीमित नभइ यस क्षेत्रको शैक्षिक, स्वास्थ्य, विकास निर्माण, आम जनसमुदायका समस्या समाधानका लागि संघको नेतृत्वले पहलकदमी गरेको इतिहास सझिनु पर्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले आफू नेतृत्व सम्हाल्नुअघि २० जना अध्यक्षहरुले संघको नेतृत्व गरिसकेको बताउनु भएको छ ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला-नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले सिद्धार्थ उद्योग वाणिज्य संघ उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य भएको बताउदै महासंघ स्थापना गर्न सिद्धार्थ उद्योग वाणिज्य संघको अहम भूमिका रहेको बताउनु भएको छ । उहाले‘सिद्धार्थ उवासंघले उद्योगी–व्यवसायीको हकहितमा निरन्तर आवाज उठाइरहेको बताउदै संघमा महिलालाई अगाडि बढाउन प्रोत्साहन गर्न आग्रह गर्नु भएको छ ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले सिद्धार्थ उद्योग वाणिज्य संघले नयाँ बाटो सुरु गरेको बताउनु भएको छ । मुलुकको आर्थिक अवस्था जटिल रहेको र उद्योग–व्यवसाय चल्न नसकेको उहाको भनाइ छ । उहाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्छ भनेर स्थानीय तहहरुको घुम्ती बैठक बसेर निर्णय गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले यो ठाउँको आर्थिक विकासका लागि अझ धेरै काम गर्नुपर्ने बताउनु भयो । असोज १ गते अर्थात विश्वकर्मा पूजाको दिन सिद्धार्थ उद्योग वाणिज्य संघको स्थापना भएको बताउदै स्थापना दिवस मनाउनु महत्वपूर्ण कार्य भएको उल्लेख गर्नु भयो । सिद्धार्थ उवासंघका पूर्वअध्यक्ष समेत रहनु भएको शर्माले आर्थिक विकास नभएको देशले फड्को मार्न नसक्ने कुरामा जोड दिदै निजी क्षेत्रले अर्थतन्त्रले चलायमान बनाउने काम गर्ने बताउनु भएको छ ।

संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थ उवासंघका पूर्वअध्यक्ष ध्रुव कुमार श्रेष्ठ,संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्य लगायतले बोल्दै उद्योग–व्यवसाय सञ्चालनमा विभिन्न चुनौती रहेको बताउनु भएको थियो । कार्यक्रममा संघका पूर्वअध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो

प्रकाशित मिति: २०२४-०९-१८ , समय : १८:५०:०४ , १ महिना अगाडि