उर्मिला यादव यात्री , ३०६ पटक हेरिएको
सुनवल, असार १३
पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा सञ्चारिका समुह नेपाल लुम्बिनी प्रदेशको समन्वयमा खानेपानी तथा सरसफाईका विषयमा पत्रकार एवम सरोकारवालाहरु संग अन्तर्कृया गोष्ठी सम्पन्न भएको छ ।
सञ्चारिका समुह लुम्बिनी प्रदेशको अध्यक्ष अमृता अनमोलको अध्यक्षता तथा पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशका खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख इन्जिनियर ध्रुब धितालको प्रमुख आतिथ्यतामा शुक्रबार पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि धितालले स्वच्छ खानेपानी र सरसफाइको उपलब्धता र दिगो बिकासमा प्रदेश सरकारको भुमिका, दिगो बिकास लक्ष्य लगायतको विषयमा जानकारी गराउनु भएको थियो । मौलिक हकको रुपमा रहेको खानेपानी तथा सरसफाइमा प्रदेश सरकारको कार्य बिभाजनको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
प्रमुख अतिथि धितालले मानव अधिकारको रुपमा खानेपानी तथा सरसफाइको अवधारणा , मापदण्ड , खानेपानी तथा सरसफाइ कार्यान्वयनको अवस्थाको विषयमा सहजीकरण गर्दै खानेपानी तथा सरसफाइको विषयमा पत्रकारहरुलाइ कलम चलाउन आग्रह गर्नु भएको थियो ।
यस्तैगरी कार्यक्रममा कृषि,खाद्य प्रविधि तथा भुमी ब्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका सूचना अधिकारी शालिकराम गौतमले आर्थिक बर्ष २०७९, ८० मा प्रदेश सरकारले कृषि क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गर्दै लैजाने निति लिएको बताउनु भएको छ । उहाँले कृषिकर्मी संग रोजगार कार्यक्रम ,कृषि क्षेत्रमा श्रोत र साधन र जनशक्तिको बर्तमान अवस्थाको विषयमा जानकारी गराउनु भएको थियो ।
उहाले प्रदेश सरकारले सबै पालिकामा कृषि विमा कार्यक्रमलाई अगाडी बढाउन पहल गरिरहेको र यो आर्थिक बर्षमा लुम्बिनी प्रदेश सरकारले साउन बाट निशुल्क कृषि बिमा गर्ने भएकोले साउन बाट आ आफ्नो स्थानीय तहमा निशुल्क कृषि बिमा गर्न सकिने बताउनु भएको छ ।
यस्तै गरी कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका जिल्ला अध्यक्ष हरि शर्माले पत्रकारिता क्षेत्रमा धेरै अवसर भएको बताउदै समाजमा भएको महिला सम्बन्धि समस्या महिलाले नै बाहिर ल्याउन सक्ने हुदा महिला पत्रकारहरुले लेखन शैलीमा तिब्रता ल्याउन आग्रह गर्नु भएको छ । उहाले महिला पत्रकार कार्यरत मिडिया क्षेत्रबाट नै महिला पत्रकारलाइ विभिन्न तालिमबाट बन्चित गराएकोले महिला पत्रकारहरु क्रियासिल हुन नसकेको गुनासो गर्नु भएको थियो ।महिला पत्रकारहरुले अवसर पाउदा लिन नखोज्नु लगायत सहभागितामा समस्या ,कृयाशिलतामा अवसर ,चुनौती जस्तो समस्याले गर्दा पनि महिलाहरु मिडियामा टिक्न गाह्रो भएको गुनासो गर्नु भएको थियो ।
यस्तैगरी प्रेस चौतारी नेपाल नवलपरासी जिल्ला अध्यक्ष मेघराज गौतमले खानेपानी तथा सरसफाइका नारा अनुसार जिल्लामा काम नभएको गुनासो गर्नु भएको छ । उहाले स्थानीय सरकार र खानेपानी तथा सरसफाइ कार्यालयबीच समन्वय नै नभएको र खानेपानी कार्यालयमा कर्मचारी अभावले गर्दा पनि खानेपानी क्षेत्रमा धेरै समस्या भएको बताउनु भएको थियोे ।
यस्तैगरि मदेशी पत्रकार समाज नवलपरासीका सल्लाहकार बेचु गौडले खानेपानी क्षेत्रमा उपभोक्ता लाइ प्राबिधिक ज्ञान नभएको, खानेपानी संग सम्बन्धित रहेका उपभोक्ताहरुमा र सबै घरधुरीमा कसरी खानेपानी धारा पुर्याउने लगायत स्वच्छ पानी र गाउघरमा प्रयोग हुने चापाकलको पानी बीचको भिन्नता ,यसलाइ किन खानु पर्ने र घर घरमा स्वच्छ पानी किन आवश्यक छ भन्ने कुरा बुझाउने संयन्त्र नभएकोले गर्दा खानेपानी क्षेत्रमा धेरै समस्या भएको बताउनु भएको छ ।
उहाले खानेपानी डिभिजन कार्यालयको काम एकदमै फितलो भएको र उपभोक्ता समितिसम्म समेत पुग्न नसकेको गुनासो गर्नु भएको थियो । उहाले पानीमा हामी सम्पन्न भए पनि पानीको ब्यवस्थापन गर्न नसक्दा पानी अभावको समस्या हामी झेल्न बाध्य भएको बताउनु भएको छ ।जसको लागि एकीकृत कार्यक्रम ल्याइ पानी ब्यवस्थापन गर्न आयोजनाहरुको माग स्थानीयले गर्नुपर्ने जोड दिनु भएको छ ।
कार्यक्रममा प्रेस युनियनका नवलपरासीका जिल्ला सदस्य सन्जिव कोइराला,सन्चारिका समूह नेपाल नवलपरासी अध्यक्ष शान्ति बिक, सन्चारिका समूह नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष उषाकिरण पन्थ , सदस्य रिया छेत्री लगायत नवलपरासी जिल्ला भरिको महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२२-०६-२६ , समय : ११:४८:०२ , २ वर्ष अगाडि