जनता जागरुक र संगठित भए कुनै परिवर्तन असम्भव छैन:उपेन्द्र यादव

रुपन्देही खबर , ९५  पटक हेरिएको

भैरहवा, भदौ २९

जनता समाजवादी पार्टी, नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले जनता जागरुक र संगठित भए कुनै परिवर्तन असम्भव नभएको बताउनु भएको छ । उहाले देश र जनताको भविष्य निर्माण आजको मिसन र लक्ष्य भएको जोड दिनु भएको छ । जसपा नेपाल लुम्बिनी प्रदेश समितिले भैरहवामा आज आयोजना गरेको ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’ अन्तर्गत अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताउनु भएको हो । उहाले जसपा नेपालले मुलुकमा परिवर्तन ल्याउने दावी गर्नु भएको छ । मधेशी जनअधिकार फोरम नेपाल हुँदै जसपा नेपालले महिला, दलित, मधेशी, मुस्लिम, जनजाति तथा सम्पूर्ण उत्पीडित समुदायको लागि लडेको बताउनु भयो । संविधान संशोधन हाम्रो सुरुदेखिको माग हो । कांग्रेस–कम्युनिष्टले जनताको आवाज दबाउन खोजे । सबै समुदायले आफ्नो संविधान सम्झे देशको संविधान हुन्छ । तर, शासक वर्गले आफ्नो लागि संविधान बनाए । यो संविधान निर्माण नै गलत तरिकाले गरियो अध्यक्ष यादवले भन्नु भयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनु भएको यादवले नेपालमा संसारको सबैभन्दा महंगो निर्वाचन प्रणाली भएको र निर्वाचनमा पैसाको खेल भएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

जसपा अध्यक्ष यादवले काँग्रेस–कम्युनिष्टले जनतालाई अधिकार दिन नचाहेको आरोप लगाउनु भएको छ । उहाले काँग्रेस–कम्युनिष्टले देशको विकास नगर्ने र काँग्रेस–कम्युनिष्टमा अन्तर नभएको समेत दावी गर्नु भएको छ । उहाले नेपालमा भ्रष्टाचार भएकाले शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रको विकास नभएको गुनासो गर्नु भएको छ ।

यस्तै गरी जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले काँग्रेस, एमाले र माओवादीबाट अब देश चल्न नसक्ने दावी गर्नु भएको छ । उहाले जसपा नेपालले अब देशको नेतृत्व गर्ने बताउदै समतामूलक समाज निर्माणका लागि पार्टी अघि बढेको जानकारी दिनु भएको छ ।
जसपाका केन्द्रीय महासचिव रामकुमार शर्माले जसपा नेपालले उत्पीडित समुदायका लागि निरन्तर आवाज उठाउँदै आएको बताउनु भएको छ । उहाले पार्टीको अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

कार्यक्रममा जसपा केन्द्रीय सदस्य अर्जुन थापा, केन्द्रीय सदस्य रामवचन यादव, भगवती सुवेदी, सावित्रा वि.क. अब्दुल रसिद खाँ, जसपा नेपालका पूर्व संघीय परिषद सदस्य विद्या प्रसाद यादव, जसपा नेपाल पश्चिम नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, जसपा कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र यादव, कपिलवस्तु नगरपालिकाका प्रमुख तथा जसपा नेपालका नेता सुदीप पौडेल लगायतले बोल्दै गाउँघरमा पुगेर संगठन मजबुत बनाउनुपर्नेमा जोड दिनु भएको थियो । जसपा नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष राम अवतार यादवको अध्यक्षता तथा मुख्य सचिव राजन राना मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२४-०९-१४ , समय : २१:४३:१० , २ महिना अगाडि